• गृहपृष्ठ
  • कंगोमा इबोला प्रतिरोधी दोस्रो खोपको प्रयोग शुरु

कंगोमा इबोला प्रतिरोधी दोस्रो खोपको प्रयोग शुरु

Nov 14th, 2019

गोमा, २८ कात्तिक (रासस/एएफपी)

अफ्रिकी मुलुक प्रजातान्त्रिक गणतन्त्र कंगोमा बिहीबार प्राणघातक इबोला संक्रमण विरुद्ध लड्न नयाँ खोप प्रयोगमा ल्याइएको छ । विगत १५ महिनादेखि फैलिएको इबोलाका कारण मुलुकको पूर्वी क्षेत्रमा त्रासको वातावरण छ । 

परोपकारी संस्था सीमाविहीन चिकित्सक (डब्टर्स विदाउट बोर्डर्स) का अनुसार आगामी चार महिनाभित्र करिब ५० हजार मानिसलाई यो खोप दिइने छ । यो खोप विश्वप्रसिद्ध औषधि उत्पादक तथा अनुसन्धाता जोन्सन एन्ड जोन्सनको बेल्जियमस्थित एक सहायक कम्पनीले तयार पारेको हो ।

गत वर्ष नै शुरु भएको खोप अभियानका क्रममा दुई लाख ५० हजार भन्दा बढीलाई खोप दिइएको छ, र त्यसमा सबैजसो स्वास्थ्यकर्मीलाई समेटिएको छ । 

कंगोको उत्तरी किभु प्रान्तमा अगस्ट २०१८ मा इबोलाको संक्रमण पहिलोपटक देखिएको थियो । त्यसपछि यो रोग छिमेकी प्रान्त इटुरी र दक्षिण किभुमा फैलिएको थियो । राज्यको उपस्थिति नै कम रहेका यी क्षेत्रहरु उगान्डा, रुवान्डा र बुरुन्डीसँग सीमा जोडिएका छन् । 

पछिल्लो विवरण अनुसार यस रोगबाट हालसम्म कंगोमा मात्र २ हजार १९३ जनाको ज्यान गइसकेको छ । 

कंगोमा इबोला फैलिएको यो दशौं पटक हो । पश्चिम अफ्रिकामा सन् २०१४–१६ को अवधिमा फैलिएको यो संक्रमणबाट कंगोमा त्यसबखत ११ हजार ३०० जनाको मृत्यु भएको थियो ।

परोपकारी संस्था एमएसएफका अनुसार गोमा प्रान्तको राजधानी उत्तरी किभुमा बिहीबार बिहान १५ जनालाई नयाँ खोप दिएर खोप कार्यक्रम शुरुआत गरिएको छ । 

विश्व स्वास्थ्य संगठनका अनुसार इबोला संक्रमितको मृत्यु हुने सम्भावना ९० प्रतिशतसम्म रहेको छ ।