• गृहपृष्ठ
  • नेपालले भारतलाई जितका लागि दियो १९४ रनको लक्ष्य

नेपालले भारतलाई जितका लागि दियो १९४ रनको लक्ष्य

Nov 14th, 2019

काठमाडौँ, २८ कात्तिक (रासस)

बङ्गलादेशमा जारी एसीसी इमर्जिङ टिम्स एशिया कप क्रिकेटमा नेपालले भारतलाई १९४ रनको मध्यम लक्ष्य दिएको छ । ढाकास्थित कृरा शिक्खा मैदानमा आज भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल ४४ दशमलव पाँच  ओभरमा सबै विकेट गुमाउँदै १९३ रनमा समेटियो ।

नेपालका लागि पाँचौ नम्बरमा ब्याटिङ गर्न आएका पवन सर्राफले सर्वाधिक ५६ रनको योगदान दिए । उनन्चास बल खेलेका उनले दुई छक्का र सात चौका प्रहार गरे । त्यस्तै नेपालले पहिलो ओभरको दोस्रो बलमै कप्तान ज्ञानेन्द्र मल्ललाई शून्य रनमा गुमाएको थियो तर नेपालका लागि शरद भेषवाकर र कुशल भुर्तेलले दोस्रो विकेटका लागि ५४ रनको साझेदारी गरे ।

शरदले व्यक्तिगत ४४ रन जोड्दा कुशल २८ रनमा आउट भए । दीपेन्द्र सिंह ऐरी २४, करण केसी २०, विनोद भण्डारी पाँच तथा सोमपाल कामी र आरिफ शेख समान दुई/दुई रनमा बाहिरिए । त्यसैगरी ललितनारायण राजवंशी शून्य रनमा आउट हँुदा सुुशन भारीले दुई रन जोडे ।

भारतका सौरभ दुबे एक्लैले चार विकेट लिए भने एस राठोडले तीन तथा पर्थ रेखाडेले दुई विकेट झारे । भारत अहिले जवाफी ब्याटिङमा उत्रेको छ । प्रतियोगितामा नेपाल समूह बी मा परेको छ । नेपालको समूहमा बङ्गलादेश, भारत र हङकङ छन् ।त्यस्तै समूह ‘ए’मा  श्रीलङ्का, पाकिस्तान, अफगानिस्तान र ओमान रहेका छन् ।