• गृहपृष्ठ
  • सडक निर्माण हुन लाग्दा स्थानीयवासी खुशी

सडक निर्माण हुन लाग्दा स्थानीयवासी खुशी

Nov 14th, 2019

भजनी, २८ कात्तिक (रासस)

– झलनाथ खनाल 

कैलालीको भजनी नगरपालिका–१ को भजनी–सुखड सडकखण्ड निर्माण हुन थालेपछि स्थानीयवासी खुशी भएका छन् ।

कालोपत्र भएर पनि ठुल्ठूला खाल्डाखुल्डीका कारण वर्षेनी सास्ती खेप्दै आएका स्थानीयवासी सो सडकखण्डलाई नगरपालिकाले निर्माण गर्न थालेपछि खुशी भएका हुन् ।

आर्थिक वर्ष २०७५/७६ उक्त सडक निर्माणका लागि नगरपालिकाले रु एक करोड ९५ लाख बजेट विनियोजन गरेको थियो । बजेट गत आवमै विनियोजन भए पनि गत आवको असारमा सम्झौता भएका कारण सडक निर्माणको काम हाल आएर शुरु भएको भजनी नगरपालिकाका इञ्जिनीयर भक्तराज जोशीले बताउनुभयो । असार मसान्तमा सम्झौता भएका कारण सडक निर्माणको काम समयमै सम्पन्न हुने भने देखिँदैन । काम शुरु भइसकेको छ । सम्झौताअनुसार ठेकेदार कम्पनीले पुस महिनासम्म काम सक्नुपर्नेछ । इञ्जिनीयर जोशीले भन्नुभयो, “वर्षात्को समयमा काम हुन सकेन, त्यसकारण काम ढिलो हुने देखिएको छ ।”

भजनी बजारदेखि सुखड सडकखण्डको ९०० मिटर सडक निर्माणको काम केएन कन्स्ट्रक्सन धनगढीले गर्दै आएको छ । पुरानो सडकको चौडाइ तीन मिटर मात्र थियो भने हाल निर्माण हुनलागेको सडकको चौडाइ १० मिटर रहेको कन्स्ट्रक्सनका प्रबन्धक निर्देशक खगेन्द्र मौनीले बताउनुभयो । उहाँले पुरानो सडकलाई उखेलेर नयाँ निर्माण गरिने बताउँदै सडक निर्माणको काम आफूहरूले ४६ दशमलव ५ प्रतिशत बिलोमा गरेको बताउनुभयो । 

निर्देशक मौनीले सडकमा खानेपानीको पाइपहरू भएका कारण काम गर्न समस्या भइरहेको भन्दै नगरपालिकाले जतिसक्दो छिटो खानेपानीको पाइपलाई व्यवस्थापन गर्न सक्यो त्यति नै छिटो काम सम्पन्न हुने बताउनुभयो । “हामीले ग्राभेल हाल्ने काम शुरु गरिसकेका छौँ । खानेपानीको पाइपका कारण कामले गति लिनसकेको छैन”, मौनीले भन्नुभयो, “नगरपालिकाले काम गर्ने सहज वातावरण बनाइदियो भने र स्थानीयवासीले सहयोग गरे काम गर्न सहज हुन्थ्यो ।”

स्थानीयवासी अर्जुन खत्रीले बजार क्षेत्रमा सडक साँघुरो र खाल्डाखुल्डी भएकै कारण दैनिक दुर्घटनाको जोखिम बढ्दै गएकामा नगरपालिकाले बजार क्षेत्रमा मात्रै भए पनि सडक निर्माणले भजनी बासिन्दालाई सहज हुने बताउनुभयो । उहाँले भजनीदेखि सुखडसम्मको सडकको अवस्था नाजुक भए पनि सडक निर्माणमा कुनै निकायको ध्यान नजाँदा जोखिमको यात्रा गर्न स्थानीयवासी बाध्य भएको बताउनुभयो ।

भजनी–सुखड सडकखण्ड करीब २४ किलोमिटर रहेको छ भने भजनी नगरपालिकाको क्षेत्रमा करीब १४ किलोमिटर पर्दछ । नगरपालिकाले ९०० मिटर सडक निर्माण गरे पनि यसलाई क्रमागतरूपमै भए पनि सडकको स्तरोन्नति गर्दै लैजाने नगरप्रमुख शेरबहादुर चौधरीले बताउनुभयो । उहाँले स्थानीय जनताको आशा र अपेक्षाअनुसार नै नगरपालिकाले काम गर्दै आएको बताउँदै निर्वाचनको समयमा जनतासँंग गरेका बाचाहरू पूरा गरेरै छोड्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । 

उहाँले भन्नुभयो, “हाम्रो पहिलो लक्ष्य भनेको सबै नगरवासीको घरसम्म सडक सञ्जाल जोड्नु हो, त्यो संँगसँगै कृषि, स्वास्थ्य र शिक्षामा समेत नगरपालिकाले पहिलो प्राथमिकतामा राखेको छ ।” नगरप्रमुख चौधरीले भजनीवासी जनताका लागि नै आफूहरूले काम गरिरहेको बताउनुभएको छ ।