• गृहपृष्ठ
  • बङ्गलादेशका राष्ट्रपति र राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाबिच शिष्टाचार भेट

बङ्गलादेशका राष्ट्रपति र राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाबिच शिष्टाचार भेट

Nov 13th, 2019

काठमाडौं, २७ कात्तिक 
बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदसँग राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आज शिष्टाचार भेट गरेकाछन ।  चार दिने नेपाल भ्रमणमा रहनुभएका राष्ट्रपति हमिदसँग भएको भेटमा दुई देशबीच आपसी सम्बन्ध र सहकार्य बारे कुराकानी भएको थियो । 

भेटमा राष्ट्रपति हमिदले दूरीले नजिक दुई देशबीच आर्थिक विकासका लागि सहकार्यका थुप्रै क्षेत्र भएको बताए । राष्ट्रपति हमिदले बङ्गलादेशको स्वतन्त्रता सङ्ग्राममा समर्थन गर्ने नेपाल ७ औं राष्ट्र भएको बताउँदै उक्त समर्थनको प्रशंसा गरे । त्यसैगरी दुई देशको जनस्तर र संसदीय सम्बन्धलाई अभिवृद्धी गर्न भ्रमण आदन प्रदान गर्नुपर्ने बताउँदै उनले अध्यक्ष तिमिल्सिनालाई बङ्गलादेश भ्रमणका लागि विशेष निमन्त्रणा गरे । 

राष्ट्रपति हमिदले नेपाल जस्तो सुन्दर र नजिकको देशमा अघिल्लो वर्ष २० हजारबढी बङ्गलादेशी जनताले भ्रमण गरेको जानकारी गराउँदै यसलाई बृद्धि गर्न सकिने धारणा राखे । एक अर्को प्रशंगमा राष्ट्रपति हमिदले बङ्गलादेशमा पढ्ने नेपाली विद्यार्थीको भिषा समस्या समधानमा आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । 

भेटवार्तामा अध्यक्ष तिमिल्सिनाले नेपाल र बङ्गलादेशको कूटनीतिक सम्बन्ध कायम भएदेखि नै मैत्रीपूर्ण रहेको बताए । उनले दुई देशबीच व्यापार, पर्यटन र संस्कृतिजस्ता क्षेत्रमा आपासी हितका लागि सहकार्य गर्न सकिने धारणा राखे । उनले नेपाल राजनीतिक मुद्दा समधानपछि विकास र समृद्धिमा केन्द्रित रहेको जानकारी दिँदै बङ्गलादेशको सहयोगको अपेक्षा गरे । 

“दुई देशबीच अहिले व्यापार घाटा रहेको छ । यसलाई कम गर्नका लागि जलविद्युत र पर्यटनका क्षेत्रको सहकार्य बढाउनुपर्छ,“ उनले भने, “जलविद्युत उत्पादन, ग्रिड जडान र विद्युत प्रवाहमा सहकार्य गर्दा दुबै देशलाई फाइदा पुग्छ  । नेपाल भ्रमण वर्षका रुपमा मनाउन लागेकाले गर्मी मौसममा शितलता लागि बङ्गलादेशी जनातालाई राष्ट्रपतिमार्फत नेपाल भ्रमणको निम्ता गरे । 

त्यसैगरी अध्यक्ष तिमिल्सिनाले दुई देशको जनस्तर र संसदीय सम्बन्ध अभिवृद्धी गर्नुपर्ने धारणा राख्दै भ्रमण तथा अनुभव आदान प्रदान हुनुपर्ने बताए । यसका लागि दुई देशका संसदीय मैत्री समूहले भूमिका खेल्ने जानकारी गराए ।