• गृहपृष्ठ
  • गृहमन्त्री थापा ‘बादल’को प्रमुख आतिथ्यमा अप्रेशन कमाण्ड तथा नेतृत्व विकास तालिम समापन

गृहमन्त्री थापा ‘बादल’को प्रमुख आतिथ्यमा अप्रेशन कमाण्ड तथा नेतृत्व विकास तालिम समापन

Nov 13th, 2019

काठमाडौं, कात्तिक २७
गृहमन्त्री राम बहादुर थापा ‘बादल’को प्रमुख आतिथ्यमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा बुधबार आयोजित एक कार्यक्रमवीच दोस्रो समूहको अप्रेशन कमाण्ड तथा नेतृत्व विकास तालिम समापन भएको छ । राष्ट्रिय अनुसन्धान विभागका उप-अनुसन्धान निर्देशक र प्रमुख अनुसन्धान अधिकृतहरुको लागि उक्त तालिम संचालन भएको हो । कार्यक्रममा प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण पश्वात गृहमन्त्री थापाले निर्दिष्ट उद्देश्य लिई संचालन गरिएको यस तालिमले प्रशिक्षार्थीहरुलाई कार्यक्षेत्रमा आ-आफ्नो जिम्मेवारी वहन गर्दा आवश्यक पर्ने प्रभावकारी कमाण्ड र सही नेतृत्वको उल्लेखनीय रुपमा विकास भई कार्यदक्षतामा अभिवृद्धि आउने विश्वास व्यक्त गर्नुभयो ।

प्रशिक्षणले प्रशिक्षार्थीहरुको विभिन्न ज्ञानको दायरालाई बढाउनुका साथै शारीरिक र मानसिक रुपमा सबल र स्वस्थ्य भई आत्मविश्वासमा वृद्धि भएको विश्वास व्यक्त गर्दै आगामी दिनहरुमा आफ्नो जिम्मेवारीलाई पूर्णरुपमा पालना गर्नको निम्ति तालिममा सिकाइएका ज्ञान र सिपहरुलाई कार्यक्षेत्रमा व्यवसायिक र कुशलता पूर्वक लागू गर्न उहाँले निर्देशन समेत दिनुभयो ।  

गृहमन्त्री थापाले देशको शान्ति सुरक्षा र अमन चयनलाई आन्तरिक वा वाह्यय रुपमा मजबुद बनाउन सबै सुरक्षा निकायले युनिफाइड र इन्ट्रिगेटेड रुपमा कार्य गर्नको निम्ति यो तालिमले महत्वपूर्ण भूमिका खेल्ने चर्चा गर्नुभयो । देशभित्र र बाहिर रहेका गलत व्यक्ति वा समूह, संगठित अपराध, सम्पत्ति सुद्धिकरण, लागूऔषध, मानव वेचबिखन र साइबर क्राइम जस्ता गतिविधिहरु देशलाई कमजोर बनाउने तत्वहरु रहेको बताउँदै गृहमन्त्री थापाले भन्नुभयो, ‘यस्ता गतिविधिलाई निस्तेज पार्न सुदृढ र भरपर्दो सूचना आवश्यकता हुने गर्दछ । तसर्थ राष्ट्रिय अनुसन्धान विभागलाई अझ सुदृढ र विश्वसनिय बनाई व्यवसायिक इन्टिलिजेन्स संस्थामा रुपान्तरण गर्न यस तालिमले थप मद्दत गर्नेछ ।’

गृहमन्त्री थापाले नेपाल सरकारले समृद्ध नेपाल र सुखी नेपाली भन्ने नाराका साथ आम नागरिकमा सुशासनको प्रत्याभूति दिन लिएको अभियानमा सुरक्षा निकायहरुको विशेष भूमिका हुने उल्लेख गर्दै यस्ता प्रशिक्षणहरुले अझ सदाचारी, नैतिकवान र नागरिकप्रति जिम्मेवार र प्रतिवद्ध बनाउन मद्दत पुग्ने बताउनुभयो । साथै गृह मन्त्रालयबाट लागू भएको गृह प्रशासन सुधार कार्य योजना २०७४ अन्तर्गतको ८२ बुदें कार्ययोजनालाई अझ प्रभावकारी रुपमा कार्यान्वयन गर्नको निमित्त सवै सुरक्षा निकायहरुको कार्यक्षमतामा अभिवृद्धि हुन जरुरी रहेको र यस प्रशिक्षणले त्यो कार्यलाई पूरा गर्न सक्ने उहाँले बताउनुभयो । 

कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले राष्ट्रिय सुरक्षा चुनौतिहरुको पहिचान गरी प्रभावकारी सूचना संकलन र विश्लेषणद्वारा त्यस्ता चुनौतिहरुलाई निस्तेज बनाउन महत्वपूर्ण जिम्मेवारी वहन गर्न अनुसन्धान अधिकृतहरुको व्यावसायिक दक्षता र सिप राष्ट्रिय सुरक्षा र प्रभावकारी सेवा प्रवाहको लागि महत्वपूर्ण हुने बताउनुभयो । देशभरका विभिन्न जिल्लामा अनुसन्धान संयन्त्र कमाण्ड गर्ने अधिकृतहरुको नेतृत्व क्षमता अभिवृद्धि गरी आगामी दिनमा प्रभावकारी कार्यसम्पादन लागि यस तालिम उपयोगी हुने प्रहरी महानिरीक्षक खनालले चर्चा गर्नुभयो । राष्ट्रिय सुरक्षा सम्बन्धी देखिएका चुनौतिहरुको सामना गर्न अनुसन्धान अधिकृतहरुमा सुरक्षा चुनौतिहरुको मूल्याङकन गर्ने, सुरक्षा रणनीतिक एवम् योजना निर्माण गर्ने र सम्बन्धित सुरक्षा निकायहरुसँग प्रभावकारी समन्वय गर्न सक्ने क्षमता हुन अपरिहार्य रहेको उहाँले बताउनुभयो । 

सुरक्षा निकायका सवै अवयवको सामूहिक उद्देश्य कानूनी शासनको प्रवर्द्धन र अपराध रहित समाजको निर्माण गर्नु रहेको उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले यसको लागि जिम्मेवार रहेका सवै निकायहरु वीचको सामूहिक प्रयास र सहकार्य महत्वपूर्ण रहेको बताउनुभयो । साथै यस्ता प्रशिक्षणले सुरक्षा निकायवीचको ऐक्यवद्धता र सामूहिक भावनाको अभिवृद्धि हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक गणेश प्रसाद अधिकारीले तालिमको महत्वबारे मन्तव्य राख्नुभएको उक्त कार्यक्रममा प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक ठुले राईले स्वागत मन्तव्य एवम् प्रशिक्षण सम्बन्धि जानकारी दिनुभएको थियो । साथै राष्ट्रिय अनुसन्धान विभागका उप-अनुसन्धान निर्देशक उत्तम खनालले प्रशिक्षार्थीहरुको तर्फबाट मन्तव्य व्यक्त गर्नुभएको थियो । 

कार्यक्रममा तालिम गतिविधि सम्बन्धि श्रव्यदृश्य सामग्री समेत प्रस्तुत गरिएको थियो । कुल ४५ कार्य्दिनको उक्त तालिममा राष्ट्रिय अनुसन्धान विभागका १५ जना उप-अनुसन्धान निर्देशक र १० जना प्रमुख अनुसन्धान अधिकृतहरुको सहभागिता रहेको   थियो । कार्यक्रममा गृहमन्त्रीका सुरक्षा सल्लाहकार प्रा.डा. ईन्द्रजित राई तथा विज्ञ सल्लाहकार सूर्य सुवेदी ‘पथिक’, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षक, प्रहरी वरिष्ठ अधिकृत एवम् अन्य प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिति रहेको थियो ।