• गृहपृष्ठ
  • इजरायली आक्रमणमा दुई प्यालेस्टिनीको मृत्यु

इजरायली आक्रमणमा दुई प्यालेस्टिनीको मृत्यु

Nov 13th, 2019

गाजा सिटी, २७ कात्तिक (रासस/एएफपी)

इजरायलले गाजा क्षेत्रमा बुधबार बिहानै गरेको हवाई तथा क्षेप्यास्त्र आक्रमणमा दुई जना प्यालेस्टिनीको मृत्यु भएको छ । पछिल्लो समय इजरायली आक्रमणबाट मारिने प्यालेस्टिनीको संख्या १२ पुगेको छ ।

इजरायलले प्यालेस्टिनी विद्रोही समूह इस्लामिक जिहादका कमान्डर विरुद्ध मङ्गलबार बिहानदेखि हवाई तथा क्षेप्यास्त्र आक्रमण गरिरहेको छ । इस्लामिक जिहादले बुधबार मारिएका दुई व्यक्तिमध्ये एक जना आफ्ना सदस्य रहेको दाबी गरेको छ । 

इस्लामिक जिहाद समूहले प्यालेस्टिनी गाजा क्षेत्रबाट क्षेप्यास्त्र प्रहार गरेको भन्दै बुधबारदेखि जिहाद विरुद्ध कारबाही थालिएको इजरायली सेनाले जानकारी दिएको छ । जिहाद समूहले प्रयोग गरिरहेको रकेट प्रक्षेपण स्थललाई ध्वस्त पारिएको इजरायली सेनाले दाबी गरेको छ । 

इजरायली हवाई आक्रमणअघि गाजासँग सीमा जोडिएका इजरायली शहरहरु आश्केलोन र नेटिभोटमा हवाई साइरन बजाइएको थियो ।

इजरायलको क्षेप्यास्त्र आक्रमणबाट इस्लामिक जिहादका कमान्डर बाहा अबु अल–आटा मङ्गलबार मारिएसँगै गाजाबाट इजरायलतर्फ २०० भन्दा बढी क्षेप्यास्त्र प्रहार गरिएका थिए, तर ती आक्रमणबाट इजरायलतर्फ कुनै क्षति पुगेको छैन । 

गाजाबाट प्रहार गरिएका क्षेप्यास्त्रमध्ये झण्डै ९० प्रतिशतलाई आकाशमै नष्ट पारिएको इजरायली सेनाले बताएको छ ।