• गृहपृष्ठ
  • राष्ट्रिय वाणिज्य बैंकका उच्च तहका कर्मचारी प्रभावित गरेर ३ अर्ब माथि ब्याज मिनाहा गराउँदै उद्योगी चण्डी ढकाल

राष्ट्रिय वाणिज्य बैंकका उच्च तहका कर्मचारी प्रभावित गरेर ३ अर्ब माथि ब्याज मिनाहा गराउँदै उद्योगी चण्डी ढकाल

Nov 13th, 2019

काठमाडौं, २७ कात्तिक 
बैंकबाट ऋण  लिने र ब्याज नतिर्ने हो भने धेरैको घरखेत लिलाम भएको कैयनले सुनेका छौ । किनकी सामान्य ग्राहकले ऋण लिएर नतिर्दा बैंकले घरबास लिलाम गरेर उठीबास नै लगाउने गरेको छ । तर ठूला व्यापारीलाई भने यिनै बैंकले ब्याज  नै मिनाहा गर्दिन्छन् । पढ्ता पत्यार लागेन होला है ?

उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकालले करिब २६ वर्ष अघि राष्ट्रिय वाणिज्य बैंकबाट गार्मेन्ट उद्योग सञ्चालनका लागि ऋण लिए । तर उनले  नियमित रुपमा तिर्नुपर्ने ब्याज र किस्ता भने आफ्नो उद्योग टाट पल्टेको भन्दै नतिरी बसे । र उनको अहिले कुल ऋण ४ अर्ब २५ करोड पुगेको छ ।  मोरेन्टो एप्रिल्सको नाममा रहेको ऋणमा ब्याज माथि ब्याज लागेको छ । तर यता ढकालमा  भने कुनै चिन्ता छैन । आखिर कसरी ?

ढकाल अहिले बैंकको  साधारण ब्याज, कम्पाउण्ड  ब्याज र ब्याजदरनै पुनरावलोकन गर्ने योजनामा छन् । उनि आफ्नो योजनामा लगभग सफल भइसकेका छन् । किनकी उनको साथमा बैंकको  उच्च तहका कर्मचारी, सिइओ र सञ्चालकहरु छन् । स्रोतका अनुसार ४ अर्ब २५ करोड मध्ये ३१ करोड ५६ लाख ऋण हो भने ८५ करोड साधारण ब्याज, ९ करोड जरिवाना र ३ अर्ब कम्पाउण्ड ब्याज हो ।

स्रोतका अनुसार अहिले ढकाल बैंकका उच्च तहका कर्मचारीसँग पटक पटक बैठक बसिरहेका छन् । बैंकको ऋण असुली विभाग अहिले उनिसँग प्रत्यक्ष सम्पर्कमा छ । बैंकका कर्मचारी ऋण मिनाहा के कसरी दिन सकिन्छ भन्ने ध्याउनमा छन् भने ढकाल उनिहरुले भने बमोजिम कागजात जुटाइरहेका छन् । ढकालले थप लगानी गर्न लागेको भन्दै एक विदेशी नागरिकलाई लिएर पटक पटक बैंक आउने गरेको स्रोत बताउँछ । राष्ट्रिय वाणिज्य बैंकले ढकालको गार्मेन्ट उद्योगको  भ्यालुएसन गर्दा कुल सम्पत्ति २४ करोड देखिएको छ । धितो लिलाम गर्दा भने बैंकको सावा मार्फत गरेको लगानी नै नउठ्ने देखिन्छ ।

बैंकका अनुसार ढकालले आफ्नो उद्योग रुग्ण भएको भन्दै सावा मात्रै तिर्ने गरी ऋण पुनरावलोकन गरिदिन माग गरेका छन् । तर बैंक भने साँवा र थप १७ करोड जति रकम लिएर ऋण पुनरावलोकन गर्ने तयारीमा छ । उद्योग फेरि सञ्चालन गर्न लागेको र यसमा विदेशी लगानी आउन लागेको भन्दै पछिल्लो एक वर्षदेखि उनले बैंकलाई ऋण पुनरावलोकन गर्न दबाब दिइरहेका छन् ।