• गृहपृष्ठ
  • बङ्गलादेशका राष्ट्रपति हमिद भक्तपुरमा (फोटोफिचर)

बङ्गलादेशका राष्ट्रपति हमिद भक्तपुरमा (फोटोफिचर)

Nov 12th, 2019

भक्तपुर, २६ कात्तिक (रासस)

चारदिने नेपाल भ्रमणमा आउनु भएका बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले आज भक्तपुरको ऐतिहासिक एवं पुरातात्विक सम्पदाको अवलोकन भ्रमण गर्नुभएको छ । भ्रमणका क्रममा राष्ट्रपति हमिदले भक्तपुर दरबार क्षेत्र, राष्ट्रिय कला सङ्ग्रहालय, पच्चपन्न झ्याले दरबार, गोल्डेन गेट, शिव मन्दिरलगायतको अवलोकन गर्नुभयो । सो अवसरमा उहाँले भक्तपुर नगरपालिकाद्वारा प्रस्तुत गरिएको माक प्याखँ नाच, देवी नाच, ख्याक नाचलगायतको अभिरुचिका साथ अवलोकन गर्नुभयो । हेलिकप्टरबाट सल्लाघारीस्थित सैनिक आवासीय महाविद्यालय अवतरण गर्नुभएका राष्ट्रपति हमिद दूधपाटीहँुदै भक्तपुर दरबारस्क्वायर पुग्नुभएको थियो । त्यहाँ उहाँलाई भक्तपुर नगरपालिकाका नगरप्रमुख सुनिल प्रजापतिले स्वागत गर्नुभयो ।

राष्ट्रपति हमिदले सकिमना पूर्णिमा (कात्तिक पूर्णिमा) को अवसरमा तौमढीमा विभिन्न गेडागुडीको समिश्रणबाट बनाइएको कला आकृतिको अवलोकनसमेत गर्नुभयो । भ्रमणका क्रममा उहाँले यहाँ राखिएका विभिन्न सामग्रीबारे चासो राख्नुका साथै भक्तपुर भ्रमणमा आएका बाह्य पर्यटकसँग कुराकानीसमेत गर्नुभयो ।  राष्ट्रपति हमिदसँगै उहाँकी धर्मपत्नीसहितको टोली नेपालको ऐतिहासिक पर्यटकीय नगरी भक्तपुरको अवलोकन गर्न यहाँ आएको हो । 
 
सो अवसरमा भक्तपुर नगरपालिकाका प्रमुख प्रजापति र पर्यटन सूचना केन्द्रका अधिकृत दामोदर सुवालले राष्ट्रपति हमिदलाई भक्तपुरको कला र संस्कृतिबारे जानकारी गराउनुभयो । उहाँलाई भक्तपुरको जुजु धौले स्वागत गरिएको थियो भने प्रसिद्ध मयूरको झ्याल उपहार प्रदान गरियो । राष्ट्रपति हमिदका साथ भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र बङ्लादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्र सहभागी हुनुहुन्थ्यो । 

हेर्नुस् तस्बिरहरू:

तस्वीर: रत्न श्रेष्ठ