• गृहपृष्ठ
  • डा गोविन्द केसीद्वारा १७औँ अनशन नवौँ दिनमा स्थगित

डा गोविन्द केसीद्वारा १७औँ अनशन नवौँ दिनमा स्थगित

Nov 12th, 2019

अमरगढी, २६ कात्तिक (रासस)

वरिष्ठ चिकित्सक प्रा डा गोविन्द केसीले आफ्नो १७औँ सत्याग्रह स्थगन गर्नुभएको छ । मङ्गलबार नवौँ दिनमा केसीले आफ्नो सत्याग्रह स्थगन गरेको घोषणा गर्नुभएको हो ।

डा केसीले डडेल्धुराको अमरगढी नगरपालिका–४ बस्ने चार वर्षीय बालक श्रीयान्स जैरुबाट सुन्तलाको जुस खाएर १७औँ अनशन नवौँ दिनमा स्थगन गर्नुभएको हो । 

राष्ट्रियताको संवेदनशील विषयमा जनस्तरबाट आवाज उठिरहँदा देशवासीको संवेदनालाई ख्याल गर्दै सत्याग्रह स्थगन गरेको उहाँले विज्ञप्तिमार्फत बताउनुभयो । चिकित्सा शिक्षा ऐन संशोधनको प्रमुख माग राखेर उहाँ डडेल्धुरामा सत्याग्रह बस्नुभएको थियो ।

प्रा डा केसीले स्वास्थ्य र चिकित्सा शिक्षामा सुधार तथा सुशासनका लागि आफ्नो लडाइँ जारी नै रहने स्मरण पत्रकारहरूमार्फत गराउनुभएको छ । सरकारले आफ्नो माग पूरा नगरे पुनः सत्याग्रहसहितका आन्दोलनका कार्यक्रम ल्याउने उहाँले बताउनुभएको छ ।

सत्याग्रहकै बीचमा भारतले निकालेको नयाँ नक्सामा नेपालको पश्चिमी सीमा क्षेत्रको लिम्पियाधुरासम्मको भूभाग भारतमा समेटिएको समाचारले अरू नेपाली नागरिकजस्तै आफू पनि स्तब्ध भएको केसीले बताउनुभएको छ ।

“आम नागरिकमा राष्ट्रियताको भावना बलियो हुनु राम्रो हो । तर सत्तामा हुनेहरूले राष्ट्रियताको बहाना पारेर कर्तव्यच्यूत हुने, गलत काम गर्ने तथा फरक मतमाथि दमन गर्नका लागि अभिव्यक्ति स्वतन्त्रता खुम्च्याउने काम गरे भने त्यो स्वीकार्य हुँदैन”, केसीले भन्नुभएको छ ।

उहाँले सीमा रक्षा राष्ट्रियताको पहिलो सर्त हो भन्नुभएको छ ।