• गृहपृष्ठ
  • म्याग्दीको टोड्केमा फस्टायो मुला खेती, मुलानै टोड्केको पहिचान

म्याग्दीको टोड्केमा फस्टायो मुला खेती, मुलानै टोड्केको पहिचान

Nov 12th, 2019

गलेश्वर, २६ कात्तिक (रासस)

साग, तरकारी, अचार, सलाद, गुन्द्रक र धजरा जे बनाए पनि उत्तिकै स्वादिष्ट मानिने औषधीय गुणको बहुउपयोगी मुला म्याग्दीको एक गाउँका दुई कृषक परिवारको लागि जीवन जिउने आधार बनेको छ । म्याग्दीको पर्यटकीय क्षेत्र टोड्केमा उत्पादन भएका मुलानै टोड्केको पहिचान बनेको छ भने यहाँका दुई परिवार मुला बेचेर नै मालामाल भएका छन् । समुद्री सतहदेखि दुई हजार ४३० मिटरको उचाइमा अवस्थित टोड्केमा बसोबास गर्ने चार परिवारमध्ये दुई परिवारको पुख्र्यौली पेशा नै मुला उत्पादन गरेर बिक्री गर्नु हो ।

वर्षौं पहिलेदेखि मुला खेती गर्दै आउनुभएकी टोड्केकी तीजमाया पाइजाले मुला बिक्री गरेर नै वार्षिक रु एक लाखभन्दा बढी कमाइ हुने बताउनुभयो । पुनले भन्नुभयो, “हाम्रो आम्दानीको प्रमुख स्रोत भनकै मुला, आलु र फापर हो । यही बेचेर वर्षभरिका लागि खर्च पुग्छ ।” करीब दुई रोपनीमा मुला खेती गर्नुभएकी पाइजाको बारीमा पर्यटकीय क्षेत्र टोड्केको भ्रमणमा आएका आन्तरिक पर्यटक मुला किन्नका लागि जाने गर्दछन् । पहिला पहिला म्याग्दी, बागलुङ र पर्वतका विभिन्न गाउँबाट धान लिएर मुला साट्न मानिस आउने गरेकामा पछिल्लो समय गाउँगाउँमा व्यावसायिक मौसमी वा बेमौसमी तरकारी खेतीको लहर चलेकाले पहिलाको जस्तो बिक्री हुन छोडेको पाइजाको भनाइ रहेको छ । यहाँका एउटै मुला दुईदेखि चार÷पाँच किलोसम्मका हुने गर्दछन् ।

मुला किन्न बेनी नगरपालिका–६ बाट टोड्के आउनुभएका दयाराम पौडेलले यहाँको मुला स्वादिष्ट र ‘अग्र्यानिक’ हुने भएकाले स्वास्थ्यको लागि पनि उपयोगी हुने बताउनुभयो । दुई बोरा मुला (३० किलो)  किनेर घर लैजानका लागि तयारी गर्नुभएका पौडेलले सागको गुन्द्रक र धजरा बनाएर हिउँदभरि खानका लागि मुला किन्न आएको बताउनुभयो । रातो र सेतो गरी यहाँ दुई प्रकारका रैथाने जातका मुला उत्पादन हुने गर्छन् । सेता मुलाको तुलनामा रातो मुला ग्राहकको रोजाइमा पर्ने पाइजाले बताउनुभयो । पहिलाको तुलनामा अहिले मुलाको बिक्री कम र उत्पादन बढी हुँदै गएको उहाँको भनाइ छ । बिक्री नभएर बचेका मुला काटेर धजरा बनाउने र हिउँदमा बजारमा लगेर बिक्री गर्ने गरेको उहाँले बताउनुभयो ।