‘अघोरी बाबा’की पत्नीमाथि ठगीको आरोप

Nov 11th, 2019

काठमाडौँ, २५ कात्तिक (रासस)

आफूलाई ‘अघोरी बाबा’ बताउने विजय केसीकी श्रीमती शारदा पाण्डेविरुद्ध ठगीको आरोप लागेको छ । चितवनकी एक महिलाबाट विदेश लगिदिन्छु भनी ठगी गरेको आरोपमा कारवाहीको माग गर्दै ठाडो निवेदन परेकाले सोधपुछका लागि उनलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिनुभयो ।

उनलाई अहिले महानगरीय प्रहरी वृत्त बौद्धमा राखिएको छ । उनको विषयमा पूर्ण जाहेरी नपरेकाले जाहेरी परेपछि त्यसैको आधारमा अनुसन्धान अघि बढ्ने बौद्ध प्रहरीले जनाएको छ । पाण्डेले पछिल्लो समयमा ‘अघोरी बाबा’सँग बिहे गरेको भन्दै यूट्यूबमा अन्तरवार्ता दिँदै आएकी थिइन् । उनीहरुको बिहे भएको भनेर लिइएको अन्तरवार्ताको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।