• गृहपृष्ठ
  • खानेपानी ऐन आयो भने धेरै विवादहरु हल हुँदै जानेछन् : खानेपानी मन्त्री

खानेपानी ऐन आयो भने धेरै विवादहरु हल हुँदै जानेछन् : खानेपानी मन्त्री

Nov 11th, 2019

बर्दिया, २५ कात्तिक 
खानेपानी मन्त्री बिना मगरले अब बन्ने खानेपानी ऐनले खानेपानीसँग सम्बन्धित धेरै किसिमका विवादहरु हल गर्ने बताउनुभएको छ । सरसफाइको अवस्था, खानेपानी र सरसफाइ अधिकार नीतिगत आवश्यकता र चुनौतिहरु विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै मन्त्री मगरले खानेपानी ऐनले अहिले देखिएका धेरै विवादहरु हल हुँदै जाने बताउनुभएको हो । 

मन्त्री मगरले प्रत्येक नागरिकलाई खानेपानीको पहुँच पुर्याउन आवश्यकताका आधारमा योजनाहरु बनाएर अघि बढ्ने बताउनुभयो । “हिजोका दिनमा योजनाहरु धेरै बने । भएका योजनाहरु समेत भद्रगोल अवस्थामा पुग्यो,” उहाँले भन्नुभयो, “अब संघ र प्रदेश सरकारले आवश्यकताका आधारमा योजना बनाउनुपर्ने हुन्छ । व्यक्तिको पहुँचको आधारमा योजना बनाएर होइन जनताको आवश्यकता र समस्याको आधारमा योजना बनाउनुको विकल्प छैन । सम्पन्न हुन बाँकी रहेका आयोजना र समस्यामा परेका आयोजनाहरुलाई प्राथमिकता दिएर अगाडि बढाउन मैले निर्देशन दिईसकेको छु ।”

खानेपानी र सरसफाइको क्षेत्रमा देशैभरिको गुरुयोजना बनाएर अघि बढ्ने उहाँले बताउनुभयो । “खानेपानीका समस्याहरुलाई नीतिगत रुपमा कसरी समाधान गर्ने भन्ने विषयमा मन्त्रालयले योजना बनाउने छ, उहाँले भन्नुभयो, ‘समस्यालाई केन्द्रीकृत गरेर अघि बढ्नुपर्नेछ । योजनाका जटिलतालाई हामीले ध्यान दिएका छौं । मन्त्रालय मातहत रहेका ठूला आयोजनाहरुलाई अगाडि बढाउने सन्दर्भमा अब स्पीडमा काम गर्दैछौं ।”

“हामीले खानेपानीको समस्या भोगिरहेका हरेक गाउँबस्ती, टोल, र शहर बजारमा खानेपानीको सहज आपूर्ति व्यवस्था मिलाउन नयाँ ठूला आयोजनाहरु सञ्चालन गर्ने तयारीमा छौं ।” उहाँले जोड दिंदै भन्नुभयो, “जटिलताका बीच खानेपानीको पहुँचको सुनिश्चितता गर्नु अहिलेको प्रमुख आवश्यकता हो । संघ, प्रदेश र स्थानीय सरकारले जनताको समस्या र आवश्यकतालाई प्राथमिकता दिएर योजना बनाउनु पर्दछ । यस कुरामा सबै तहका सरकारहरु जिम्मेवार बन्नै पर्दछ ।”