• गृहपृष्ठ
  • विश्वकपको दोस्रो चरण छनोट अन्तर्गत नेपाल र कुवेतबीचको खेल भूटानमा हुने

विश्वकपको दोस्रो चरण छनोट अन्तर्गत नेपाल र कुवेतबीचको खेल भूटानमा हुने

Nov 11th, 2019

काठमाडौँ, २५ कात्तिक (रासस)

कतारमा आयोजना हुने फिफा विश्वकपको दोस्रो चरण छनोटअन्तर्गत नेपाल र कुवेतबीचको खेल भूटानमा हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले एन्फाले आज प्रेस विज्ञप्ति जारी गर्दै नेपाल र कुवेतबीचको पहिलो खेल भूटानको चाङलिमिथाङ रङ्गशाला हुने तय भएको जनाएको छ । विश्वकप छनोटअन्तर्गत नेपालको पहिलो होम खेलको रुपमा रहेको उक्त खेल यसअघि दशरथ रङ्गशालामा आगामी मङ्सिर ३ गतेका लागि तय भएको थियो । अन्तर्राष्ट्रिय मापदण्ड नपुगेको भन्दै एशियाली फुटबल महासङ्घ (एएफसी)ले एन्फालाई खेल स्थल परिवर्तन गर्न निर्देशन दिएको थियो । 

एन्फाले नेपाल र कुवेतबीचको खेल भुटानको चाङलिमिथाङ रङ्गशालामा गर्न एएफसीलाई सिफारिस गरेकामा उसले स्वीकृति दिएको एन्फाले जनाएको छ । दशरथ रङ्गशालामा २०७२ को भूकम्पका कारण पूर्णरुपमा क्षति भएको थियो । विश्वकप छनोटमा नेपाल समूह ‘बी’ मा रहेको छ । छनोटको सबै ‘अवे’ खेल खेलिसकेको नेपालले ४ खेलमा ३ अङ्क जोडेको छ । नेपाल कुवेतसँग ७–० गोलले पराजित भएको थियो । नेपालले चाइनिज ताइपेलाई २–० गोलले पराजित गरेको थियो । त्यसपछि नेपाल अष्ट्रेलियासँग ५–० तथा जोर्डनसँग ३–० गोलले पराजित भएको थियो ।