• गृहपृष्ठ
  • प्याज आयातमै बाहिरिन्छ करोडौं रुपैयाँ, कहिले बन्ने नेपाल प्याजमा आत्मनिर्भर ?

प्याज आयातमै बाहिरिन्छ करोडौं रुपैयाँ, कहिले बन्ने नेपाल प्याजमा आत्मनिर्भर ?

Nov 11th, 2019

काठमाडौं, २५ कातिक
नेपाली बजारमा पछिल्लो समय प्याजको मूल्य बढेको छ । नेपाली उत्पादनले धान्न नसकेपछि विदेशबाट आयात गर्नु परेकोले प्याजको मूल्य बढेको हो । चालू आर्थिक वर्षको पहिलो ३ महिनामा मात्र नेपालले ३० लाख ८९ हजार ६ सय ४५ किलोग्राम सुकेको प्याज आयात गरेको छ । यसको लागि १६ करोडभन्दा बढि रकम नेपालबाट बाहिरिएको भन्सार विभागको तथ्याकंमा उल्लेख छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको पहिलो महिनामा एक लाख ५९ हजार १ सय ३१ किलो सुकेको प्याज भारतबाट नेपाल भित्रिएको थियो । यस्तै भदौको मसान्तसम्म यो परिमाण ७ लाख २२ हजार २ सय ३३ किलो पुगेको थियो ।

नेपालमा खपत हुने प्याजको ९८ प्रतिशत हिस्सा भारतबाट आयात हुने गरेको भन्सार विभागको विवरणले देखाउँछ । यसैगरी आर्थिक वर्ष २०७५/७६ मा ५ अर्ब ६२ करोड २५ लाख रुपैयाँको प्याज आयात भएको थियो । कालीमाटी तरकारी तथा फलफूल विकास समितिका अनुसार सुकेको प्याजको मूल्य अहिले थोक प्रतिकिलो १२० रुपैयाँ छ । प्याजको आयात वर्षेनी बढ्ने गरेको तथ्याकंले देखाउँछ । नेपालले २०७० देखि हालसम्म आयात गरेको प्याज तथ्याकं यस्तो छ । 

आयातमा रोक
केही समय अघि भारतले नेपालमा प्याज पठाउन प्रतिवन्ध लगाएको थियो । प्रतिबन्ध घोषणा गरेलगत्तै नेपाली बजारमा प्याजको थोक मूल्य प्रतिकिलो १ सय २० रुपैयाँसम्म पुगेको थियो । नेपालमा व्यवसायीहरुले भारतको नासिक, इन्दौंर, कानपुर, चण्डीगढ, लखनउ, गौरखपुर र सिमला लगायतबाट प्याज आयात गर्छन् ।

वर्षेनी बढ्छ आयात
नेपाल प्याजमा मात्र होइन यसको बीउमा समेत परनिर्भर छ । करिब ६५ प्रतिशत जनसंख्या कृषिमा आवद्ध हुने मुलुक नेपालसँग प्याजको आफ्नै मौलिक बीउ को पनि अभाव छ ।  प्याजको बीउ र उत्पादनमा राज्यले चासो दिएको छैन । जसको कारण नेपाली हरेक वर्ष आयातित प्याजबाटै तरकारी पकाउँछन् । 

कृषि उपज बस्तुमा पनि अवौंको आयात गर्नुपरेपनि देशमा व्यापार घाटा बढ्दो छ ।  व्यापार घाटा बढ्दो बनाउनमा जिम्मेवार तरकारी बालीको कसरी उत्पादन बढाउने भन्ने ठोस योजना समेत छैन । कृषि तथा पशुपन्छी मन्त्रालय पनि यस प्रति बेखबर जस्तै बनेको छ । मन्त्रालयसँग ठोस रणनीतिक पनि नभएका कारण भारतले विभिन्न बहानामा प्याज निर्यात रोक्ने गरेको छ । प्याज र बीउमा परनिर्भर भएकै कारण नेपालीले  वर्षमै साढे पाँच अर्ब रुपैंया विदेशी प्याजको लागि खर्च गर्छन् । अहिले नेपाली बजारमा ९८ प्रतिशत आयातित प्याज छ । 

प्याजको लागि परनिर्भर बन्नुपरेको अहिले मात्र होइन । पहिले पनि यस्ता अवस्था दोहोरिएका थिए । जसको कारण वर्षेनी चाडपर्वको मुखमा प्याजको मूल्य आकासिने गरेको थियो । 

प्याजमा अत्मनिर्भर बन्न के गर्यो सरकारले ?
प्याजमा आत्मनिर्भर बन्न सकारले पहल नगरेको भने होइन । सरकारले २०६४/६५ देखि २०६९/७० सम्म ‘प्याज मिसन’ अभियान सञ्चालन गरेको थियो । यो अभियानको नाममा सरकारले ६० करोड रुपैयाँ खर्च गरेको थियो । तर सो अभियान सफल हुन नसकी २०७० मा खारेज नै भयो ।  सिरहा, सप्तरी, धनुषा, सर्लाही, बारा, पर्सा, रूपन्देही, दाङ, बाँके र बर्दिया जिल्लामा सञ्चालिन ‘प्याज मिसन’ पर्याप्त रूपमा प्रविधि र भौतिक पूर्वाधारको तयारी नगरिएका कारण सफल हुन सकेन । 

अच्चम त के छ भने यो परियोजना सुरु हुँदा आर्थिक वर्ष २०६३/६४ मा नेपालमा करिब ५९ करोडको प्याज आयात हुन्थ्यो भने परियोजना समाप्त हुँदासम्म अर्थात आ.व. २०६९/७० मा आउँदा करिब दुई अर्ब रुपैयाँको प्याज आयात भएको थियो । पश्न उठ्छ प्याज अभियानमा छुट्याएको रकम कता गायव भयो ?