• गृहपृष्ठ
  • नेपाल भ्रमणमा आउने चिनियाँ पर्यटकको सङ्ख्या बढे ,दश महिनामा दश लाख पर्यटक

नेपाल भ्रमणमा आउने चिनियाँ पर्यटकको सङ्ख्या बढे ,दश महिनामा दश लाख पर्यटक

Nov 11th, 2019

–सीबी अधिकारी काठमाडौँ, २५ कात्तिक (रासस)

नेपाल भ्रमणमा आउने चिनियाँ पर्यटकको सङ्ख्या बढेको छ । सन् २०१९ को अक्टोबर महिनामा मात्रै चीनबाट १५ हजार ३७ चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेको नेपाल पर्यटन बोर्डले जनाएको छ । यो सङ्ख्या गत वर्ष सोही अवधिको तुलनामा ११.५ प्रतिशत बढी हो । बोर्डको तथ्याङ्कअनुसार सन् २०१८ मा १२ लाख हाराहारीमा विदेशी पर्यटक नेपाल आएका थिए । उक्त अवधिमा चीनबाट एक लाख ६० हजार पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०१९ को अक्टोबरमा भारतबाट १२ हजार ७०६ पर्यटक नेपाल आएका छन् । यो सङ्ख्या अघिल्लो वर्ष सोही अवधिको तुलनामा नौ प्रतिशतले बढी हो ।

अक्टोबरमा चिनियाँ पर्यटक बढे पनि नेपालमा कूल पर्यटक आगमनमा छिमेकी मुलुक भारत अगाडि छ । सन् २०१९ को दश महिनामा १ लाख ६९ हजार ९५२ भारतीय पर्यटक नेपाल आएका छन् । उक्त अवधिमा चीनबाट एक लाख ३४ हजार २८१ पर्यटकले नेपाल भ्रमण गरेका छन् । अक्टोवरमा कूल १ लाख ४३ हजार ८७० विदेशी पर्यटक नेपाल आएका छन् । अघिल्लो वर्षको सोही अवधिमा १ लाख ३० हजार ७०४ पर्यटक आएका छन् । भारत नेपालको पर्यटनका लागि मुख्य स्रोत बजार हो भने चीन दोस्रो स्थानमा पर्छ । नेपालमा सबैभन्दा बढी पर्यटक भित्रने मुलुकमा भारत पर्छ । सन् २०१८ मा दुई लाख ४३८ भारतीय नागरिकले नेपाल भ्रमण गरेको बोर्डको विवरणमा उल्लेख छ ।

गत अक्टोबरमा (असोज २५ र २६ गते) चीनका राष्ट्रपति सी चिनफिङले नेपालको दुई दिवसीय राजकीय भ्रमण गर्नुभएको थियो । उक्त भ्रमणपछि चिनियाँ पर्यटकको सङ्ख्यामा बढोत्तरी भएको पाइएको छ । अक्टोबरमा भारतीय पर्यटकको तुलनामा चिनियाँ पर्यटक बढेको भएको बोर्डले जनाएको छ । विश्व भ्रमणमा धेरै पर्यटक निस्कने मुलुक चीनबाट अझै पनि बढी पर्यटक नेपालमा भित्र्याउन सकिएको छैन । वार्षिक १५ करोड चिनियाँ विश्व भ्रमणमा निस्कने बताइएको छ । त्यसको केही हिस्सा नेपाल ल्याउन सके पर्यटन क्षेत्रमा महत्वपूर्ण योगदान हुने बताइन्छ । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाएर उक्त अवधिमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । छिमेकी मुलुक चीनबाट मात्रै पाँच लाख पर्यटकलाई स्वागत गर्ने सरकारको तयारी छ ।

दश महिनामा दश लाख पर्यटक

सन् २०१९ को १० महिनामा झण्डै १० लाख विदेशी पर्यटकले नेपाल भ्रमण गरेको बोर्डले जनाएको छ । अध्यागमन विभागलाई उद्धृत गर्दै बोर्डले उपलब्ध गराएको तथ्याङ्ककअनुसार सन् २०१९ को जनवरीदेखि अक्टोबरसम्म कूल ९ लाख ७५ हजार ५५७ विदेशी पर्यटक नेपाल आएका छन् । कूल पर्यटकमध्ये हवाई मार्ग भएर आठ लाख २० हजार ४९९ र स्थलमार्गबाट एक लाख ५५ हजार ५८ पर्यटक नेपाल भित्रिएका छन् । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा आठ प्रतिशतले वृद्धि हो । सन् २०१८ को १० महिनामा नौ लाख तीन हजार ५३९ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

पर्यटक आगमनको उक्त अवधिमा युरोपबाट एक लाख ९९ हजार तीन पर्यटक आएका छन् । युरोपबाट गत वर्ष एक लाख ९८ हजार ४९३ पर्यटक नेपाल आएका थिए । अमेरिका र क्यानडाबाट ९२ हजार २७२ पर्यटक आएका छन् । एशियाली मुलुकबाट झिनो सङ्ख्यामा पर्यटक बढेका छन् । खासगरी चाइनिज ताइपेई र थाइल्याण्डबाट क्रमशः ३९.५ र ३२.९ प्रतिशत बढी पर्यटक आएको आँकडाले देखाएको छ । ताइपेईबाट ११ हजार ३८४ र थाइल्याण्डबाट ३९ हजार ६०८ पर्यटक नेपाल भ्रमणमा आएका छन् ।

पर्यटक आगमनको समग्रतालाई हेर्दा दक्षिण एशियाली मुलुक भारत, चीन र बङ्गलादेशबाट २५.६५ प्रतिशतले वृद्धि भएको छ । एशियाली मुलुकबाट २६.५९ प्रतिशत, युरोपका मुलुकबाट २०.४ प्रतिशत पर्यटक बढेको पाइएको छ । सरकार तथा निजी क्षेत्रको पहल, नेपाली कूटनीतिक नियोग, सञ्चारमाध्यमलगायत सरोकारवालाको सक्रियताले विदेशी पर्यटकको सङ्ख्यामा बढोत्तरी भएको बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले बताउनुभयो ।