उपनिर्वाचन २०७६ : तयारी तीव्र

Nov 11th, 2019

चितवन, २५ कात्तिक (रासस)

आउँदो मङ्सिर १४ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि तयारी तीव्र पारिएको छ । बुधबार २७ गते स्थानीय तहका लागि मनोनयन गर्नुपूर्व सर्वदलीय बैठक बसेर दल र उम्मेदवारलाई निर्वाचन प्रक्रियाका विषयमा जानकारी गराइँदै छ । जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालका अनुसार ६ वटा मतदान स्थल र १५ वटा केन्द्र तय गरिएको छ । मतदान केन्द्रका लागि ७५ जना जिल्लाबाट कर्मचारी र केन्द्रमा ६० जना स्वयंसेवक नियुक्त गरिनेछ ।

चितवनमा भरतपुर महानगरपालिका–१६ र खैरहनी नगरपालिकाको वडा नं ४ र ५ को वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको हो । राजनीतिक दलहरुले उपनिर्वाचनका लागि उम्मेदवार घोषणा गरिसकेका छन् । उपनिर्वाचनका लागि जिल्लामा तयारी तीव्र पारिएको छ । जिल्ला निर्वाचन अधिकारी ढकालका अनुसार भरतपुर महानगरपालिका–१६ मा आठ हजार ४८१, खैरहनी नगरपालिका–४ मा दुई हजार ६९२ र वडा नम्बर ५ मा दुई हजार १११ मतदाता रहेका छन् । 

जिल्लाको निर्वाचन हेर्न मुख्य निर्वाचन अधिकृतमा जिल्ला न्यायाधीश हेमन्त रावल खटिनुभएको छ । सवारी दुर्घटनामा खैरहनीका वडा अध्यक्षहरुको निधन भएको र भरतपुर–१६ का वडाध्यक्षको क्यान्सर रोगका कारण निधन भएकाले उपनिर्वाचन हुन लागेको हो ।