• गृहपृष्ठ
  • जापानी राजदम्पत्ती राजकीय जुलुसमा सहभागी, नागरिकबाट भब्य स्वागत

जापानी राजदम्पत्ती राजकीय जुलुसमा सहभागी, नागरिकबाट भब्य स्वागत

Nov 11th, 2019

टोकियो, जापान, २५ कात्तिक(रासस/एनआई)

सम्राट नारूहितोको गद्दी आरोहणको सन्दर्भमा आँधीका कारण स्थगित भएको राजकीय जुलुस आइतबार सम्पन्न भएको छ ।

गद्दी आरोहण कै प्रक्रिया अन्तर्गत जापानी राज परम्परा अनुसार हुने कवाजसहितको जुलुस दरबारबाट करिब ४.६ किलोमिटरको दुरी पार गरी राजदम्पत्तीको निवासमा पुगी सम्पन्न भएको हो ।

आइतबारको कार्यक्रममा हजारौँ नागरिकले राजदम्पत्तीलाई अभिनन्दन गरेका दृष्यहरू जापानी टेलिभिजन एनएचकेले प्रत्यक्ष देखाएको थियो । 

समारोहमा प्रधानमन्त्री सिन्जो आवे, राजकुमार अकिसिनोलागायतका उच्च पदस्थ अधिकारीको सहभागिता रहेको थियो । 

शहरका सडकका दुई किनारामा बसेका नागरिकले राजदम्पत्तीलाई अभिनन्दन गर्न पाउँदा निकै खुशी देखिएका थिए ।

राजकीय जुलुसमा नागरिकद्वारा राजदम्पत्तीलार्ई स्वागत गर्ने जापानी परम्परा हो । यससँगै गद्दी आरोहणका सम्पूर्ण कार्यक्रम सम्पन्न भएका छन् ।

राजगद्दी आरोहणका अन्य औपचारिक कार्यक्रम यस पहिले नै सम्पन्न भइसकेपनि जापानमा करिब ८० जनाको ज्यान जानेगरी गत महिना आएको आँधीका कारण परेड तथा राजकीय जुलुस स्थगित गरिएको थियो ।

शनिबार राति राजदरबारमा एक भब्य सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । बीस हजार पाहुनालाई आमन्त्रण गरिएको कार्यक्रममा छब्बीस हजार दर्शक सहभागी भएका थिए ।