• गृहपृष्ठ
  • सर्वोच्च नेता सिंहको १०५औँ जन्मजयन्ती

सर्वोच्च नेता सिंहको १०५औँ जन्मजयन्ती

Nov 10th, 2019

काठमाडौँ, २४ कात्तिक (रासस)

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक आन्दोलनका अथक योद्धा गणेशमान सिंहको योगदानलाई बिर्सन नसकिने बताउनुभएको छ ।

नेपालको लोकतान्त्रिक आन्दोलनका अथक योद्धा, सर्वोच्च नेता एवम लौहपुरुष सिंहको १०५औँ जन्मजयन्तीका अवसरमा आज सभापति देउवाले विज्ञप्ति जारी गर्दै उहाँप्रति श्रद्धासुमन व्यक्त गर्नुभएको छ । राष्ट्रिय राजनीतिमा लौहपुरुषका रुपमा परिचित एवम अन्तर्राष्ट्रिय राजनीतिक क्षेत्रमा समेत प्रभावशाली नेताका रुपमा स्थापित स्व सिंहको त्याग र निष्ठाको भावी पुस्ताले सम्मान गर्ने विज्ञप्तिमा भनिएको छ ।   

“पार्टीका अमूल्य निधि एवं धरोहर सिंहको लामो कठिन र सङ्घर्षशील राजनीतिक जीवनका विविध पक्ष तथा उहाँले मुलुकका लागि पु¥याउनु भएको योगदानलाई आज उहाँको जन्मदिनका अवसरमा स्मरण गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु”, सभापति देउवाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । स्व सिंहको निष्ठा र सङ्घर्षशील जीवनबाट वर्तमानसँगै भावी पुस्ता पनि निरन्तर प्रेरित रहिरहने सभापति देउवाको विश्वास छ । सर्वोच्च नेता सिंहको जन्म १९७१ कात्तिक २४ गते काठमाडौँको चाक्सीबारीमा भएको थियो । उहाँको जन्मजयन्तीका अवसरमा पार्टी, भ्रातृ एवम शुभेच्छुक संस्थाले आज विविध कार्यक्रम आयोजना गरेका छन् ।