हिमाली क्षेत्र मनमोहक

Nov 10th, 2019

रसुवा, २४ कात्तिक (रासस)

हजो आज हिमाली क्षेत्रको मौसम सफा रहने भएकाले प्रकृतिपे्रमीहरूका लागि सफा प्राकृतिक दृश्य अवलोकन गर्न र पदयात्रा गर्न सहज भएको छ ।  नजिकै देखिने लाङटाङ हिमाल, हरियाली वनजङ्गल, उडिरहने पन्छी, छङछङ गर्ने झर्नाजस्ता सम्पदाले जिल्लाकोे भ्रमण गर्ने आन्तरिक एवं बाह्य पर्यटकको आवागमन बढ्न थालेको छ ।

स्थानीय पर्यटन व्यवसायीका अनुसार प्राकृतिक दृश्यावलोकनका लागि अहिले दिनदिनै एक सयभन्दा बढी पर्यटकले भ्रमण गरिरहेका छन् । मोटर यात्रापश्चात् गोसाइँकुण्ड जाने पर्यटकले धुञ्चेबाट र लाङटाङ जाने पर्यटकले स्याफ्रुबेँसीबाट पैदलयात्रा गर्ने गरेको होटल व्यवसायी राम पौडेलले बताउनुभयो ।आन्तरिक एवं बाह्य पर्यटक तामाङ सम्पदा मार्गअन्तर्गत पार्वतीकुण्ड, तातोपानी र नाकथलीसमेतको भ्रमण गर्ने र ठाउँठाउँका घरवास (होमस्टे) तथा होटल सञ्चालकले खाना खुवाउन र  बस्न सहज गराएकाले पर्यटककोे आगमन बढ्दै गएको गतलाङका होमस्टे सञ्चालक फुर्पु सिङ्गी तामाङले बताउनुभयो ।

गोसाइँकुण्ड र लाङटाङतर्फ भने होटल तथा लजको व्यवस्था छ । सन् २०२० को नेपाल भ्रमण वर्ष सफल पार्न यहाँका होटल व्यवसायीले पूर्वाधार विस्तार गरिरहेको  पर्यटन व्यवसायी सुब्बा तामाङले जानकारी दिनुभयो ।चन्दनबारी क्षेत्रमा (रेडपान्डा) रातोहाब्रेसमेत अवलोकन गर्न सक्ने भएकाले त्यहाँ पर्यटकले थप एक दिन बसाइँ लम्याउने  गरेको बताइएको छ ।

काठमाडौँबाट रसुवाको भ्रमण शुरु गरेपछि सात दिनमा उत्तरी क्षेत्रको भ्रमण गर्न सकिने र तामाङ सम्पदा मार्गमा स्थानीय मकै तथा कोदाको ढिँडो, सागसब्जी र कालो मुसुरोको दालजसता परिकार खुवाउँदा पर्यटक सन्तुष्ठ हुने गरेको गत्लाङका होमस्टे सञ्चालकहरु बताउँछन् ।पर्यटन वर्ष २०२० लाई सफल पार्न र रसुवामा पनि थप पर्यटक भित्र्याउन यहाँका स्थानीय सरकारले थप सुधारका कदम चालिसकेको र भइराखेका होटललाई  सुदृढ बनाउन थालेको जिल्ला समन्वय प्रमुख कुलप्रसाद भट्टले जानकारी दिनुभयो ।