• गृहपृष्ठ
  • राष्ट्रिय युवा नेतृत्व अध्ययन कार्यक्रमको दोस्रो ब्याच गोरखामा दीक्षित

राष्ट्रिय युवा नेतृत्व अध्ययन कार्यक्रमको दोस्रो ब्याच गोरखामा दीक्षित

Nov 10th, 2019

काठमाडौं, २४ कात्तिक 
राष्ट्रिय युवा नेतृत्व अध्ययन कार्यक्रम (एनईएलपी) को दोस्रो ब्याचको दीक्षान्त कार्यक्रम गोरखामा सम्पन्न भएको छ । अमेरिकास्थित युनिभर्सिटी अफ सान डिएगो क्रक स्कुल, क्रक इन्स्टिच्युट फर पिस एण्ड जस्टिस (आईपिजे), स्वीस सरकार विकास सहयोग (एसडिसी) र काठमाडौंस्थित लीडरशिप एकेडेमीको संयुक्त आयोजनामा सञ्चालित एक वर्षे कार्यक्रमको सन् २०१९ को चौथो सत्र तथा दिक्षान्त कार्यक्रम हिमाली जिल्ला गोरखामा सम्पन्न भएको हो । 

दिक्षान्त समारोहमा गोरखा नगरपालिकाका मेयर राजनराज पन्त, फलेवास नगरपालिकाका मेयर पदमपाणि शर्मा, नेपाल प्रहरीका पूर्व महानिरीक्षक तथा नेपाल ओलम्पिक कमिटीका मानार्थ अध्यक्ष ध्रुवबहादुर प्रधान, गोरखाका प्रमुख जिल्ला अधिकारी देवेन्द्र लमिछाने, युनिभर्सिटी अफ सान डिएगो अन्तर्गत आईपीजेका कार्यक्रम अधिकृत ड्यानियल ओर्थ, नेपालस्थित स्वीस राजदूतावासका राजनीतिक सल्लाहकार प्रतिज्ञा सिंखडा बास्कोटा, आईपीजेको नेपाल साझेदार लिडरशीप एकेडेमीका अध्यक्ष सन्तोष साह लगायत गोरखाका राजनीतिक दल, सुरक्षाका प्रमुखहरु, बिभिन्न सङ्ग संस्था हरु, नागरिक समाज तथा बुद्धिजिबी को उपस्तिथीमा सहभागीहरुलाई प्रमाणपत्र तथा ब्याच वितरण गरियो । 

कार्यक्रममा गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा ऐतिहासिक स्थल गोरखामा आयोजित राष्ट्रिय युवा नेतृत्व अध्ययन कार्यक्रमले पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । यसले गोरखाको प्रचार देशविदेशमा हुन पुगेको उनको भनाइ थियो । राष्ट्रिय युवा नेतृत्व अध्ययन कार्यक्रमले नेपालको भूगोल, संस्कृति, भेषभुषालाई एकआपसमा जोडेको उनकोे भनाइ थियो । यसले राष्ट्रियताको प्रवद्र्धनमा पनि सकारात्मक भूमिका खेलेको धारणा उनले व्यक्त गरे । 

नेपाल प्रहरीका पूर्व महानिरीक्षक तथा नेपाल ओलम्पिक कमिटीका मानार्थ अध्यक्ष ध्रुवबहादुर प्रधानले भिन्न, भूगोल, आस्था, वर्ग, लिंगका व्यक्तिहरुबीचको अन्तरक्रिया नै राष्ट्रिय युवा नेतृत्व अध्ययन कार्यक्रम भएको बताउँदै कार्यक्रम सार्थक भएको बताए । युवा नेताहरुमा नेतृत्व क्षमताको विकास गर्नुपर्नेमा जोड दिँदै उहाँले युवा नै भविष्य भएको धारणा राखे । 

आईपीजेका कार्यक्रम अधिकृत ड्यानियल ओर्थले आईपीजे नेपालको शान्ति प्रक्रियामा सुरुवातदेखि नै काम गरिरहेको जानकारी दिँदै राष्ट्रिय युवा नेतृत्व अध्ययन कार्यक्रम पनि त्यसैको निरन्तरताको रुपमा सञ्चालन गरिएको बताए । दुई वर्षमा ४५ भन्दा बढी जिल्लाका ५२ जना युवा नेतृत्व दीक्षित भइसकेको जानकारी दिँदै उनले सन् २०२० मा पनि कार्यक्रम निरन्तर रहने बताए । 

नेपालस्थित स्वीस विकास सहयोगबाट प्रतीनिधित्व गर्दे आएका राजनीतिक सल्लाहकार प्रतिज्ञा सिंखडा बास्कोटाले नेपाल केन्द्र शासित शासन व्यवस्थाबाट संघीयतातिर गइरहेको बेला सञ्चालित राष्ट्रिय युवा नेतृत्व अध्ययन कार्यक्रम समयसापेक्षित रहेको बताइन् । उनले भनिन्, “जनतासँग सीप, ज्ञान र आफ्नो कामप्रति लगाव भएको खण्डमा सफलताको सम्भावना बढेर जान्छ । परिवर्तन चाहने नेताका लागि त यो कुरा झन् बढी सान्दर्भिक हुन्छ । यो कार्यक्रमले त्यो सीप र ज्ञान तपाईहरुलाई दिएको छ । एउटा नेताको रुपमा तपाईहरुले दुर्गम र पहुँच नभएका सिमान्तकृत वर्गहरुप्रति अझ बढी जिम्मेवार हुनुपर्छ । तपाईको समाजमा रहेका संरचनागत वाधा व्यवधान तोड्न र द्धन्द्धको श्रृंखलासँग जुध्न यो कार्यक्रम एउटा बलियो माध्यम बन्न सक्छ, ।” 

सहभागीहरुको तर्फबाट गण्डकी प्रदेशबाट बेदबहादुर थापा, प्रदेश नम्बर दुईबाट गुञ्जनकुमारी राय, प्रदेश नम्बर तीनबाट रोविन लामा र गण्डकी प्रदेशबाट पूजा पौडेलले आफ्नो अनुभव सुनाउँदै कार्यक्रमको माध्यमबाट विभिन्न क्षेत्रको कला संस्कृति, भेषभुषा, रहनसहन आदि सिक्ने अवसर मिलेको र सकारात्मक सोच, विवाद समाधानका सूत्र तथा नेतृत्व विकासका अन्य थुप्रै विषयहरु सिक्ने अवसर मिलेको बताए । यस शैक्षिक सत्रको शुभारम्भ प्रदेश नम्बर ५ को नेपालगन्जमा भएको थियो भने तीन–तीन महिनाको अवधिमा काठमाडौं, कास्की र गोरखामा शैक्षिक कार्यक्रम सञ्चालन गरिएको थियो ।

राष्ट्रिय युवा नेतृत्व अध्ययन कार्यक्रमको बारेमा
राष्ट्रिय युवा नेतृत्व अध्ययन कार्यक्रम काठमाडौंस्थित लीडरशिप एकेडेमी र अमेरिकास्थित युनिभर्सिटी अफ सान डिएगो क्रक स्कुल र क्रक इन्स्टिच्युट फर पिस एण्ड जस्टिस (आईपिजे) र स्वीस सरकार विकास सहयोग (एसडिसी) को संयुक्त आयोजनामा सञ्चालित एक वर्षे कार्यक्रम हो । सन् २०१८ मा सुरु भएको यस कार्यक्रममा देशका सातवटै प्रदेशबाट यूवा नेताहरु सहभागी हुनुहुन्छ । विभिन्न राजनीतिक पार्टीका युवा नेता, स्थानिय तहका प्रमुख तथा अन्य जनप्रतिनिधिहरु, सामाजिक अभियन्ता, अधिकारकर्मी, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु यसमा छनोट हुनुभएको छ । देशको पूर्वदेखि पश्चिम तथा पहाड, हिमाल र तराई तीनै क्षेत्रबाट २५ देखि ४० वर्षसम्मका सहभागी छनोट गरिएको छ । 

प्रशिक्षार्थीहरुलाई सहयोग तथा मार्गदर्शनका लागि अनुभवी नेता तथा विशेषज्ञ मार्गदर्शकहरुकोे एक टिम पहुँचमा हुनेछ । साथै युवा नेता–नेतृहरुको कामलाई अझै प्रभावकारी बनाउन सुरक्षा विशेषज्ञ पूर्व आईजीपी ध्रुवबहादुर प्रधान, कानुनी विशेषज्ञ वरिष्ठ अधिवक्ता अवधेशकुमार सिंह र सञ्चार विशेषज्ञ निरञ्जन अधिकारी रहनुभएको छ । 
 
नेपालका युवा नेतृत्वलाई अझै प्रभावकारी बनाउन र उनीहरुमा विकसित भइरहेको नेतृत्व क्षमताको विकास, विस्तार र अभिवृद्धिका लागि यो कार्यक्रम सञ्चालनमा ल्याइएको हो । यस प्रशिक्षणात्मक कार्यक्रमले युवा नेतृत्वको अग्रसरतामा गाउँ तथा समाज परिवर्तनका लागि भइरहेका प्रयासहरुलाई प्रभावकारी रुपमा सञ्चालन गर्न तथा समुदायमा यी कार्यक्रमको ठूलो प्रभाव सिर्जना गर्न मद्दत गर्दछ । यस कार्यक्रमले समुदाय तथा सरकारी निकायसँग अझै प्रभावकारी रुपमा काम गर्नका लागि युवा नेतृत्वलाई मिडियासँग संलग्नता, सामुदायिक समस्याहरुको वकालत, तथा सम्बोधनजस्ता विविध विषयमा तालिम प्रदान गर्छ । यस कार्यक्रममा देशको विभिन्न क्षेत्र, वर्ग, लिंग, विविध जातजाति तथा भिन्न राजनीतिक मूल्यमान्यता बोकेका प्रशिक्षार्थी सहभागी रहेका छन् । 

राष्ट्रका केही मुद्दाहरू यस्ता हुन्छन्, जसको समाधान कुनै एक समूह/निकाय/दलको क्षमताभन्दा बाहिर हुन्छ । यस कार्यक्रमले पहाड–हिमाल–तराई, विविध जातजाति, भिन्न राजनीतिक मूल्यमान्यता बोकेका युवा नेता/नेतृको एक यस्तो ठोस संयन्त्रको निर्माण गर्दैछ, जसले ती समस्याको समाधान सामूहिक प्रयासबाट गर्नेछ । यस कार्यक्रमले ग्रामीण तथा स्थानीय स्तरमा काम गरिरहेका २५ देखि ४० वर्षको एक विशेष उमेर समूहका राजनीतिक तथा गैरराजनीतिक युवा नेता/नेतृहरूलाई राष्ट्रिय स्तरमा पहिचान दिलाउने कार्य गर्नेछ । विशेषज्ञ, स्थापित राजनीतिज्ञ/विज्ञको अनुभव, मार्गदर्शन था सहयोगले युवा नेताहरूलाई छोटो समयमा मूलधारमा पुग्नलाई उत्प्रेरकको काम गर्न सक्छ । यस कार्यक्रमले राजनीतिक तथा गैरराजनीतिक विशेषज्ञहरूको पहिचान गरी उहाँहरूसँग युवा नेताहरूको सम्पर्क स्थापित गराइदिनेछ । देशका जटिल तथा चुनौतीपूर्ण समस्या समाधानमा यस कार्यक्रमले तयार गरेका प्रशिक्षार्थी र मार्गदर्शकको विशेष समूहको अहम् भूमिका हुन जाने विश्वास कार्यक्रमले लिएको छ ।

आईपिजे ले नेपालको द्वन्द्व व्यवस्थापनका लागि नेपालका राजनीतिक दल, नागरिक समाज र महिला नेतृहरुसँग मिलेर सन् २००२ देखि काम गर्दै आएको छ । यो संस्था कुनै प्रकारको प्रतिनिधित्व या संयुक्त राष्ट्रसंघको प्रतिनिधि संस्था नभई स्वतन्त्र संस्था हो । यसको नेपालमा औपचारिक कार्यालय छैन । द्वन्द्व व्यवस्थापनमा काम गरिरहेका संघसंस्था तथा नेतृत्वदायी भूमिकामा रहेका र उदाउँदै गरेका नेतृत्व वर्गको क्षमता अभिवृद्धि तथा अनुभव आदानप्रदानका लागि आईपिजे नेपालमा आउने गर्दछ । आईपिजे ले सक्रिय रुपले नेपालको राजनीति तथा सामाजिक सुरक्षाका बारेमा नागरिक समाजसँग खुलेर औपचारिक तथा अनौपचारिक छलफल, गोष्ठी, आदि गर्ने गर्दछ

लीडरशिप एकेडेमीको बारेमा
लीडरशिप एकेडेमी काठमाडौंमा रहेको गैरनाफामूलक शैक्षिक संस्था हो । यसले राष्ट्रिय/अन्तर्राष्ट्रियस्तरमा वैकल्पिक शैक्षिक पाठ्यक्रम निर्माण गरी विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । लीडरशिप एकेडेमीले विद्यार्थीहरुलाई वैकल्पिक शिक्षाको रूपमा नेतृत्व तथा क्षमता विकासका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको छ । ती कार्यक्रमहरुले विद्यार्थीलाई प्रतिस्पर्धी बन्न र प्रभावकारी नेतृत्व लिन अग्रसर गराउँछ ।

लीडरशीप एकेडेमीमा सञ्चार तथा कार्यालय व्यवस्थापन, टेलिभिजन कार्यक्रम उत्पादन, क्षमता विकास, पत्रकारिता आदिका लागि तालिम कार्यक्रमहरु सञ्चालन भइरहेका छन् । त्यस्तै, नेतृत्व विकास कार्यक्रमअन्तर्गत युथ फोरम, लीडरशीप एन्ड स्किल डेभलपमेन्ट प्रोग्राम, अर्ली लर्निङ स्किल प्रोग्रामहरु पनि सञ्चालन भइरहेका छन् । लीडरशीप एकेडेमीले युवाहरुलाई मुलुकको आर्थिक तथा सामाजिक विकासमा योगदान पु¥याउन सक्ने गरी प्रतिस्पर्धी र क्षमतावान बनाउन कार्यक्रमहरु सञ्चालन गरिरहेको र एकेडेमीले युवा लक्षित टेलिभिजन कार्यक्रमहरु पनि निर्माण गरिरहेको छ, जुन एनटिभी प्लसबाट प्रशारण भइरहेको छ ।