• गृहपृष्ठ
  • इङ्ल्याण्डले जित्यो टी २० शृंखला, सुपरओभरमा विजयी

इङ्ल्याण्डले जित्यो टी २० शृंखला, सुपरओभरमा विजयी

Nov 10th, 2019

अकल्याण्ड, २४ कात्तिक (रासस/एएफपी)

चार महिनाअघि एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा विवादास्पद रुपमा सुपरओभरमा न्यूजील्याण्डलाई पराजित गरेको इङल्याण्डले फेरि टी २० को सुपरओभरमै न्यूजील्याण्डलाई उसकै घरेलु मैदानमा हराएको छ । 

न्यूजील्याण्डको अकल्याण्डमा खेलिएको २०–२० क्रिकेट प्रतियोगितामा इङ्ल्याण्डले न्यूजील्याण्डलाई सुपरओभरमा ९ रनले पराजित गरेको हो ।

शृंखलाको पाँचौं तथा अन्तिम खेल वर्षाका कारण ११ ओभरमा झारिएको थियो । टस हारेर ब्याटिङको निम्तो पाएको न्यूजील्याण्डले निर्धारित ११ ओभरमा १४६ रनको विशाल स्कोर खडा गरेको थियो । 

न्यूजील्याण्डका लागि मार्टिन गप्टिलले  २० बलमा ५०, कोलिन मुन्रोले २१ बलमा ४६ र टिम साइफर्टले १६ बलमा ३९ रन बनाएका थिए ।

जितका लागि १४७ रनको चुनौती पछ्याएको इङ्ल्याण्डले शुरुका तीन विकेट सस्तैमा गुमाएको थियो । इङ्ल्याण्डका लागि जोनी बेयरस्टोले १८ बलमा ४७ रनको महत्वपूर्ण योगदान दिएका थिए ।
 
दुबै टिमको स्कोर बराबर भएका कारण सुपरओभर खेलाइएको थियो । सुपरओभरमा इङ्ल्याण्डका जोनी बेयरस्टोले ८ तथा इयोन मर्गनले ९ रन बनाई जितका लागि १७ रनको लक्ष्य दिएका थिए । तर न्यूजील्याण्डको टिमले एक विकेट गुमाउँदै केबल ८ रन बनाएको थियो ।

यो जितसँगै इङ्ल्याण्डले ३–२ ले शृंखलामा विजयी भएको छ ।