• गृहपृष्ठ
  • छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु

Nov 10th, 2019

काठमाडौं, २४ कात्तिक

महोत्तरी, बर्दिबास नगरपालिका-४ विश्वकर्मा चोकमा ज.१ त ३६५१ नम्बरको ट्रयाक्टरले ना.३ स ५२०६ नम्बरको अटो रिक्शालाई शनिबार साँझ ठक्कर दिंदा गम्भीर घाइते भएका सोही ठाउँ बस्ने अटोमा सवार ३५ वर्षीय रमेश बिकको शुभ स्वस्तिक अस्पताल बर्दिबासमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका अटो रिक्शामा सोही ठाउँ बस्ने २५ वर्षीय टिकाराम पाण्डेको सोही अस्पतालमा उपचार भइरहेको छ । दुवै सवारी साधन नियन्त्रण लिई फरार ट्रयाक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

 यसैगरी महोत्तरी, जलेश्वर नगरपालिका-२ रेडक्रस चोकमा लु.१ त ७६९९ नम्बरको ट्याक्टरले शनिबार साँझ ठक्कर दिँदा गम्भीर घाइते भएका सोही ठाउँ बस्ने साइकलयात्री प्रमोद मुखियाको १० वर्षीय छोरा राज कुमार मुखियाको जिल्ला अस्पताल जलेश्वर हुँदै थप उपचारको लागि धरान घोपा पठाएकोमा उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको छ । ट्रयाक्टर नियन्त्रणमा लिई फरार ट्रयाक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

 चितवन, भरतपुर महानगरपालिका-७ तेह्रसाल चोकमा ना.५९ प ३३७० नम्बरको स्कुटर आइतबार बिहान अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका स्कुटर चालक सोही महानगरपालिका-११ बस्ने २६ वर्षीय सुवास तामाङको जिल्ला अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी स्कुटरमा सवार रत्नगर नगरपालिका-६ बछौली बस्ने २० वर्षीया पुजा सुनारको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।