नेपाली स्वाद फुडट्रेक्स लण्डनमा

Nov 9th, 2019

काठमाडौं, २३ कात्तिक 
संयुक्त अधिराज्यको लन्डन सहरमा नोभेम्बर ४ देखि ६ २०१९ सम्म आयोजना भएको विश्व पर्यटन बजार डब्लु टि एम पर्यटन मेलामा नेपालको सहभागिता सफलतापूर्वक सम्पन्न भएको छ । संसार कै ठूलो पर्यटन मेला मध्येको एक यस मेलामा नेपालको सहभागितालाई नेपाल पर्यटन बोर्डले नेतृत्व गरेको थियो जसमा ३६ नेपाली ट्राभल कम्पनीहरुको सकृय सहभागिता भएका थिए । नेपाली प्रतिनिधि मण्डलको नेतृत्व माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले गरेका थिए । यो मेलाको ४० औ संस्करणमा १८० भन्दा बढी गन्तब्यस्थलहरुको सहभागीता रहेको थियो ।

नेपाल भ्रमण भन्दा पनि पहिले विदेशीहरुलाई नेपाली स्वाद पस्किने कार्यक्रम नोभेम्वर ३ मा आयोजना गरिएको थियो । नेपाल पर्यटन बोर्डको नेपाली खानालाई अन्तराष्ट्रियकरण गर्ने उद्देश्य बमोजिम आयोजित लण्डन फुडट्रेक्स कार्यक्रममा नेपाली खानाहरु फाँडो, चुकौनी, मम, दाल र सिकर्नी सहभागीहरुलाई खान दिइएको थियो । 

माननीय मन्त्री योगेश भट्टराईूले नेपाली स्वाद लण्डनको फुडट्रेक्समा पस्किन पाउनु गौरवको विषय भएको बताए । नेपाल हिमालहरुको देश, विविध संस्कृतिको संगमस्थलका रुपमा परिचित हुँदै आएकोमा अबका दिनमा नेपाली मौलिक परिकारहरुले चिनाउने अभियानमा लागेको बताए । 

नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले नोभेम्वर ६ मा आयोजित एसियामा खाना पर्यटनमा भएको नविन सोच विषयक प्यानल डिस्कसन कार्यक्रममा सहभागी हुँदै नेपाली खानाले पर्यटकमा अमिट छाप छोड्ने हुँदा यसको प्रर्वधनमा बोर्ड जुटेको बताए । 

नोभेम्वर ५ मा नेपाली दूतावास लण्डनमा नेपाल भ्रमण वर्षको विशेष कार्यक्रमको आयोजना गरियो । उक्त कार्यक्रममा विश्व प्रसिद्ध पर्वतारोहीहरु, बेलायती टुर अपरेटरहरु, सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो । १४ पटक सगरमाथा आरोहण गर्ने केन्टोन कुल, पहिलो बेलायती महिला आरोही रेबेक्का स्टेफन्स, पाटा कार्यकारी प्रमुख मारियो हार्डी लागाएतकाले कार्यक्रममा नेपाल भ्रमण वर्षलाई सफल बनाउन सहभागीहरुलाई अनुरोध गरेका थिए ।