• गृहपृष्ठ
  • सेफ्स एशोसियसन अफ नेपालको अध्यक्षमा लामा

सेफ्स एशोसियसन अफ नेपालको अध्यक्षमा लामा

Nov 9th, 2019

काठमाडौँ, २३ कात्तिक (रासस)

नेपालको मौलिक खानालाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा चिनाउँदै मुलुकको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको सेफ्स एशोसियसन अफ नेपालको अध्यक्षमा खड्गविक्रम लामा निर्वाचित हुनुभएको छ । 

एशोसियसनको २५औँ साधारणसभाबाट आगामी दुई वर्षका लागि लामाको अध्यक्षतामा शुक्रबार साँझ १५ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरिएको हो । एशोसियसनको प्रथम उपाध्यक्षमा ठाकुरप्रसाद पौडेल, उपाध्यक्षमा शिवहरि घिमिरे, महासचिवमा पदमबहादुर आलेमगर, सचिवमा श्रीकृष्ण गजुरेल, कोषाध्यक्षमा श्यामबहादुर तामाङ चयन हुनुभएको छ । 

यस्तै सदस्यमा रेशमकुमार लामा, सुनिल लामा, गङ्गाबहादुर खत्री, सुवर्णमान कर्माचार्य, दीपक ढुङ्गाना, हेमराज पौडेल, रामचन्द्र धरेल, राजकुमार लामा र रामकृष्ण थापा चयन हुनुभएको हो । नवनिर्वाचित अध्यक्ष लामाले नेपाल भ्रमण वर्ष–२०२० लाई सफल बनाउन र नेपाली मौलिक खानालाई विश्व बजारसम्म लैजानका लागि एशोसियसनले काम गर्ने बताउनुभयो । 

एशोसियसनले नेपालका २६ प्रकारका खानालाई विश्वमा चिनाउन लागिपरेको उहाँको भनाइ छ । सन् २०२० मा २० लाख पर्यटक भित्र्याउन सरकारले राखेको लक्ष्य पूरा गर्न एशोसियसनले टर्की, अष्ट्रेलिया, भारत, जापान, चीनलगायतका मुलुकमा नेपाली खानाको प्रचार गर्न लागेको छ । “नेपाल घुम्न आउने विदेशीले विदेशी खाना आफ्नै देशमा खाने हुँदा नेपाली खानालाई प्रोत्साहन गर्न सक्नुपर्छ, यसका लागि सेफ्स एशोसियन लाग्नेछ”, उहाँले भन्नुभयो । 

सन् १९९६ मा स्थापना भएको एशोसियसनमा हाल दुई हजारभन्दा बढी सदस्य छन् । सोमा पाँचतारे होटलदेखि सामान्य होटलमा काम गर्ने सेफ आबद्ध छन् । एशोसियसनले विदेशी खाना बनाउने सम्बन्धमा विदेशी सेफसँग तालीम लिनुका साथै नेपाली सेफ हुन चाहने व्यक्तिलाई तालीम प्रदान गर्दै आइरहेको एशोसियसनका सदस्य रेशमकुमार लामाले जानकारी दिनुभयो ।