• गृहपृष्ठ
  • श्रीलङ्कामा डेङ्गुबारे सचेत रहन स्वास्थ्य मन्त्रालयद्वारा नागरिकलाई ध्यानाकर्षण

श्रीलङ्कामा डेङ्गुबारे सचेत रहन स्वास्थ्य मन्त्रालयद्वारा नागरिकलाई ध्यानाकर्षण

Nov 9th, 2019

कोलम्बो, २३ कात्तिक (रासस/सिन्ह्वा)

श्रीलङ्काको स्वास्थ्य मन्त्रालयले देशका विभिन्न भागमा डेङ्गुको सङ्क्रमण देखिएको भन्दै नागरिकहरूलाई सचेत बन्न आग्रह गरेको छ ।

अक्टोबरको अन्त्यसम्ममा ८० जनाको डेङ्गुका कारण मृत्यु भएपछि शुक्रबार मन्त्रालयले नागरिकलाई डेङ्गुको सङ्क्रमणबाट बच्न आवश्यक सतर्कता अपनाउन भनेको हो ।

स्थानीय सञ्चारमाध्यमले मन्त्रालयलाई उद्धृत गरी अक्टोबरसम्ममा ६० हजार नागरिक डेङ्गु भाइरसबाट प्रभावित बनेको र सबैभन्दा बढी समस्या कोलम्बो जिल्लामा देखिएको बताएका छन् । 

मन्त्रालयले दुई दिनसम्म नियमित ज्वरो आएमा आफूलाई पाएक पर्ने अस्पतालमा पुगी रगत परीक्षण (एन–वन टेष्ट) गर्न नागरिकहरूलाई सचेत बनाएको छ । यो परीक्षणबाट डेङ्गु ज्वरोको सजिलै तथा छिट्टै पहिचान हुने बताइएको छ ।

श्रीलङ्कामा गत बर्ष डेङ्गुका कारण मृत्यु हुनेको सङ्ख्या ५८ रहेको थियो । यस बर्ष डेङ्गुका कारण मृत्यु हुनेको सङ्ख्या अक्टोबरसम्ममा नै ८० पुगेकोले यसलाई यहाँका स्वास्थ्य विज्ञहरूले ‘भयावह’ स्थिति भनेका छन् । विज्ञहरूले उच्च ज्वरोको समस्या देखिएमा तत्काल चिकित्सकको परामर्श लिन र औषधी चलाउन सुझाब दिएका छन् ।

डेङ्गुको सङ्क्रमण भएका विरामीमा उच्च ज्वरो आउने, निरन्तर वान्ता आउने, पेट दुख्ने, रिङ्गटा लाग्ने र थोरै पिसाब लाग्ने लक्षणहरू देखिने विज्ञहरूले बताएका छन् ।

डेङ्गुको ज्वरोका कारण रक्तनलीहरू फुट्ने सम्भावना भएका कारण यसलाई प्राणघातक रोगका रूपमा लिन र रोगबाट सङ्क्रमित व्यक्तिले विद्यालय तथा आफूले काम गर्ने कार्यालयमा नजान र आरम लिन सुझाब महामारी रोग विशेषज्ञहरूले दिएका छन् । चिकित्सकहरूले गर्भवती महिलाहरूले ज्वरो आएकै दिन अस्पतालमा भर्ना भै उपचार लिन पनि सचेत गराएका छन् ।

श्रीलङ्कामा लामखुट्टेको टोकाईबाट सर्ने यस समस्या लिएर गत बर्ष ४८ हजार विरामी परेका थिए । राष्ट्रिय डेङ्गु नियन्त्रण एकाईले देशभर लामखुट्टे नियन्त्रणका लागि व्यापक अभियान सञ्चालन गरेको छ ।