• गृहपृष्ठ
  • कसरी संभव होला १० वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादन ? जलविद्युतका सेयर बिक्नै छाडे

कसरी संभव होला १० वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादन ? जलविद्युतका सेयर बिक्नै छाडे

Nov 9th, 2019

काठमाडौं, २३ कात्तिक 
सरकारले १० वर्षमा १५ हजार मेगावाटको विद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ । तर, यता  निर्माण भइरहेका जलविद्युत आयोजनाका भने प्राथमिक सेयर आइपिओ बिक्नै छाडेका छन् । गत असोज १६ गते शिव श्री हाइडोपावरले ३३ करोड ५१ लाख रुपैयाँ बराबरको प्राथमिक सेयर निष्काशन गर्याे । तर यसको जम्मा २१ प्रतिशत अर्थात ७ करोड ६ लाखको लागि मात्रै  सेयर आवेदन परेको छ । अब प्रवर्धकले बिक्री नभएको २६ करोड पुँजीको लागि कि बैंकको ऋण कि त आफैले लगानी गर्नुपर्ने हुन्छ ।

पछिल्लो तीन वर्षमा २१ वटा जलविद्युतआयोजनाले सर्वसाधारणका लागि सेयर निष्काशन गरेकामा १२ वटा जलविद्युत आयोजनाको सेयर पुर्ण रुपमा बिक्री हुन नसकेको देखिन्छ । यसरी ऋणमा प्राप्त हुने उक्त लगानीका कारण आयोजनाले अब यसका सेयरधनीलाई लामो समयमसम्म लाभांस दिन सक्दैन ।

पछिल्लो समय निर्माण सम्पन्न भएर सञ्चालनमा आएका अधिकांश जलविद्युत आयोजनाले प्रतिफल दिन नसकेसँगै जलविद्युत आयोजनाको सेयरमा लगानीकर्ताको अरुचि बढ्दै गएको हो । चिलिमे जलविद्युत आयोजनाले उच्च प्रतिफल दिएकाले केहि वर्ष अघिसम्म जलविद्युत आयोजनाको सेयरमा लगानीगर्न लगानीकर्ताहरु बिच तछाडमछाड नै हुन्थ्यो । तर, त्यसपछि बनेका आयोजनाले प्रतिफल दिन नसकेसँगै अहिले जलविद्युत आयोजनालाई पुँजी जुटाउनै कठिन भएको छ ।

अहिले प्रवर्धक, बैंक र जनताको  संयुक्त लगानीमा विभिन्न जलविद्युत आयोजनाहरु निर्माण  भइरहेका छन् । तर पछिल्लो समयमा निर्माण भइरहेका आयोजनामा भने जनताको लगानी जुटाउन कठिन हुँदै गएको देखिन्छ ।

लगानीकर्ताहरु भने  विद्युत प्राधिकरणले विद्युत खरिद न्युन रकममा गर्नुका साथै अन्य आवश्यक  आर्थिक सहयोग नगरेका कारण जलविद्युत आयोजनाहरु रुग्ण बनेको बताउँछन् । तर बिज्ञहरु भने जलविद्युत क्षेत्रमा प्रवर्धक, आफै ठेकेदार र आफै सप्लायर्स हुँदा त्यसको नियमन गर्ने निकाय नै छैन  । जसका कारण कैयन आयोजनामा जनताले गरेको लगानी डुबी रहेको छ ।

सेयरबजारमा सूचिकृत भएका ३२ वटा कम्पनीहरु मध्ये अहिले १९ वटा कम्पनीहरुको मूल्य १ सयभन्दा पनि तल ओर्लिएको छ । जसले पनि जलविद्युत आयोजनामा हुने लगानीमा कमी आएको हो ।