• गृहपृष्ठ
  • सीमा समस्यालगायतका विषयमा छलफल गर्न प्रधानमन्त्रीद्वारा सर्वपक्षीय बैठक आह्वान

सीमा समस्यालगायतका विषयमा छलफल गर्न प्रधानमन्त्रीद्वारा सर्वपक्षीय बैठक आह्वान

Nov 8th, 2019

काठमाडौँ, २२ कात्तिक (रासस)

नेपाल र भारतको बीचमा रहेको सीमा समस्यालगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वपक्षीय बैठक आह्वान गर्नुभएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालकाअनुसार पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्रीलगायतसँग प्रधानमन्त्रीले शनिबार छलफल गर्न लाग्नुभएको हो ।“प्रधानमन्त्रीले सीमा समस्या समाधानका लागि भारतसँग कूटनीतिक तवरले नै वार्ता गरी समस्या समाधान गर्न सबैसँग छलफल गर्न बैठक आह्वान गर्नुभएको हो”, सल्लाहकार डा अर्यालले भन्नुभयो । बैठकमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा), प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसलगायतका राजनीतिक दल, पूर्वपरराष्ट्रमन्त्री तथा नेपाल भारत सीमाबारे जानकारहरुको सहभागिता हुनेछ ।

 भारत सरकारले पछिल्लो पटक सार्वजनिक गरेको नक्शामा लिपुलेक, कालापानी, लिम्पियाधुरालगायतको नेपाली भूभाग पारेको भन्दै विरोध भइरहेको छ । सत्तारुढ नेकपा निकटको विद्यार्थी सङ्गठन अनेरास्ववियू, प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेस निकटको भातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घले सीमाका बारेमा भारतले सार्वजनिक गरेको नक्शाको विरोध गरिरहेका छन् ।आज पनि भारतीय दूतावास नजिक विभिन्न समूहले प्रदर्शन गर्दै विरोध गरेका थिए । परराष्ट्र मन्त्रालयले यही कात्तिक २० गते प्रेस विज्ञप्तिमार्फत कालापानी क्षेत्र नेपालको भूभाग भएको स्पष्ट पारिसकेको छ । परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको थियो –कालापानी क्षेत्र नेपालको भूभाग हो ।