• गृहपृष्ठ
  • राजस्वको आधार बन्दै अटो क्षेत्र, लक्ष्यभन्दा बढी नै उठ्छ राजश्व

राजस्वको आधार बन्दै अटो क्षेत्र, लक्ष्यभन्दा बढी नै उठ्छ राजश्व

Nov 8th, 2019

काठमाडौं, २२ कातिक 
पछिल्लो समय अटोमोबाइल्स राष्ट्रिय अर्थतन्त्रको प्रमुख आधार बन्दै गएको छ । विज्ञान प्रविधि र विश्व व्यापिकरणको लहर बढेसंगै नेपालमा पनि विस्तार भएको अटो बजारबाट राज्यले पनि आम्दानीको दायरा वढाउने अवसर पाएको छ ।  अहिले अटो क्षेत्र राजस्व बृद्धिको प्रमुख आधार बन्दै गएको छ ।  प्रखेश नं ३ को यातायात व्यवस्था कार्यालयले चालू आर्थिक वर्ष २०७६ र ०७७ को कात्तिक दोस्रो सातासम्म ६० करोड ६४ लाख ४३ हजार रुपैयाँ राजश्व उठाएको छ । 

सो कार्यालयले  आ.व. २०७५ र ०७६ मा एक अर्ब ४७ करोड रुपैयाँ राजश्व सङ्कलन गरेको जनाएको छ । यो लक्ष्य भन्दा बढि हो ।  सो कार्यालयले एक अर्ब रुपैयाँ राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । तर सो आर्थिक वर्षमा लक्ष्य  थप ४७ करोड रुपैयाँ राजस्व वृद्धि भएको  कार्यालयले जनाएको छ । 

विगत ३ वर्षको सवारी राजस्व विवरण यस्तो छ 
अटो क्षेत्रबाट राज्यले आर्थिक वर्ष २०७४ र ७५ मा राज्यले २३ अर्व ६४ करोड ९९ लाख १९ हजार रुपैयाँ राजस्व संकलन गरेको  थियो । सातवटै प्रदेशका यातायात कार्यालयबाट उक्त राजस्व उठेको यातायात व्यवस्था विभागको तथ्याकंमा उल्लेख छ ।

सबैभन्दा बढी राजस्व प्रदेश ३ बाट संकलन भएको थियो  । विभागको तथ्यांकअनुसार गत आ.व.मा प्रदेश ३ बाट मात्रै १२ अर्ब १३ करोड ८५ लाख ४२ हजारभन्दा बढी राजस्व संकलन भएको थियो  । राजस्व असुलीको सबैभन्दा ठूलो माध्यम भनेकै यातायातका साधनहरू हुन । आर्थिक वर्ष ०७३/७४ मा ९ खर्ब ८४ अर्बको आयात गरेको थियो भने  आर्थिक वर्ष २०७२/७३ मा  १२ खर्ब ४३ अर्ब पुगेको थियो । गत वर्ष सवारी साधन र त्यसका पार्ट्स मात्रै ८६ अर्ब ३ करोड रुपैयाँको आयात भएको थियो । यसबाट ८० अर्ब भन्सार राजस्व संकलन गरिएको थियो । राजस्वमा यातायातको योगदान २५ प्रतिशतभन्दा बढी छ । 

कुन शिर्षकमा उठ्छ राजस्व ?
यातायात व्यवस्था विभाग अन्तर्गतका कार्यालयले सवारीसाधन कर, सडक सम्भार तथा मर्मत शुल्क, चालक अनुमतिपत्र तथा सवारी इजाजत दस्तुर, इम्बोस्ड नम्बर जडान शुल्क, दण्ड जरिवाना र यातायात क्षेत्रको आम्दानी शीर्षकमा राजस्व संकलन गरेका हुन् । 

सवारी साधन कर सङ्कलन, यातायात क्षेत्रको आम्दानी, चालक अनुमति पत्र, सवारी दर्ता किताबलगायत शीर्षकमा राजश्व सङ्कलन बढेको कार्यालयले जानकारी दिएको छ ।