• गृहपृष्ठ
  • छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु

छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु

Nov 8th, 2019

काठमाडौं, २२ कात्तिक
सर्लाही, महोत्तरी, चितवन, बाँके, भोजपुर, धनुषा, कास्की, धादिङ र काभ्रेका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु भएको छ । 

सर्लाही, बागमती नगरपालिका-५ टेकानी टोलस्थित सडकमा ना.६४ प ८५०३ नम्बरको मोटरसाइकल बयल गाडामा ठक्कर खाई बिहीबार दिउँसो दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक बरहथवा नगरपालिका-१० बस्ने १७ वर्षीय प्रमानन्द कुमार महतोको उपचारको लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार धनकौल गाउँपालिका-२ बस्ने ३२ वर्षीय अरबिन्द महतोको नमूना असपताल हरिवनमा उपचार भइरहेको छ । 

महोत्तरी, औरही नगरपालिका-१ स्थित सडकमा गौशालाबाट औरहीतर्फ जाँदै गरेको ज.१० प ४१९० नम्बरको मोटरसाइकलबाट लडेर गम्भीर घाइते भएका औरही नगरपालिका-७ बस्ने ७० वर्षीया दुलारी देवी साहको उपचार लागि लैजाने क्रममा बिहीबार दिउँसो बाटोमै मृत्यु भएको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 चितवन, भरतपुर महानगरपालिका-५ पन्चरत्न चोकमा ना.३६ प ९३२४ नम्बरको स्कुटरको ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरुषको जिल्ला अस्पताल भरतपुरमा उपचारको क्रममा बिहीबार राति मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका स्कुटर चालक नवलपरासी गैडाकोट नगरपालिका-१० भेंडाबारी बस्ने २३ वर्षीय जनक कडेंलको नयाँ मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ । 

बाँके, राप्ती सोनारी गाउँपलिका-२ जिरोस्थित सडकमा बा.१९ च १२१४ नम्बरको कार र बा.५२ प २१८६ नम्बरको मोटरसाइकल बिहीबार राति एकआपसमा ठक्कर खाँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक जुम्ला कुनका गाउँपालिका-३ सिंजा बस्ने २८ वर्षीय पदम बहादुर शाहीको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार मृतककी श्रीमती २३ वर्षीया नविना शाहीको सोही अस्पतालमा उपचार भइरहेको छ । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

भोजपुर, ट्याम्केमैयुम गाउँपालिका-४ चखेवामा बा.४ ख ८५५९ नम्बरको बस पार्किङ गर्ने क्रममा किँच्दा बसका सह-चालक ट्याम्केमैयुम गाउँपालिका-२ छिनामखु बस्ने २४ वर्षीय बिकाश राईको बिहीबार साँझ घट्नास्थलमै मृत्यु भएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

धनुषा, जनकपुर उपमहानगरपालिका-२ स्थित सडकमा बा.७५ प ६१८७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार सोही उपमहानरपालिका-१६ पुलचोक बस्ने २८ वर्षीय मोहम्मद बिरोध आलमको न्यूरो अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक समेत २ जनालाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको छ । 

कास्की, पोखरा महानगरपालिका-१० अम्मरसिंह चोकमा ग.३ च ४१४ नम्बरको जिप र ग.१३ प ११०३ नम्बरको मोटरसाइकल बिहीबार राति एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक स्याङ्जा बेलकाचौर-६ बस्ने ३७ वर्षीय केश बहादुर गुरुङको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । जिप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।