गाँजा नष्ट

Nov 7th, 2019

भोजपुर, २१ कात्तिक (रासस)

जिल्ला प्रहरी कार्यालय भोजपुरले गाँजा फँडानीलाई तीव्रता दिएको छ । हालसम्म जिल्लामा २०२ रोपनीमा लगाइएकोे गाँजा नष्ट गरेको प्रहरीले जनाएको छ । 

प्रहरीले जिल्लाभर आफै उम्रेको तथा व्यावसायिक रुपमा खेती गरिएको गाँजा नष्ट गर्ने अभियान चलाएको हो । विषेश गरेर जिल्लाको दक्षिणी भेगमा रहेका हतुवागढी र आमचोक गाउँपालिका अन्तर्गत पर्ने उदयपुर, खोटाङ र धनकुटाका सिमानामा पर्ने क्षेत्रमा गाँजा नष्ट गरेको छ । 

प्रहरीको गाँजा फँडानी अभियान अन्तर्गत हसनपुरको मुस्ताङ, तथा दूधकोशी नदीको सिमानामा व्यावसायिकखेती गरिएको गाँजा नष्ट गरेको हो । जिल्ला प्रहरी कार्यालय भोजपुर, इलाका प्रहरी कार्यालय घोडेटार, इलाका प्रहरी कार्यालय वयाङ, प्रहरीचौकी हसनपुर, सशस्त्र प्रहरी वेसक्याम्प यूँको टोलीले गाँजा फँडानी गरेको हो । 

इलाका प्रहरी कार्यालय घोडेटारका प्रमुख प्रहरी निरीक्षक जसबहादुर लिम्बूले भन्नुभयो,‘‘हाम्रो क्षेत्रको विभिन्न ठाउँमा व्यावसायिक रुपमा लगाएको गाँजा नष्ट गरिरहेका छांै, यो अभियान जारी छ, तर स्वामित्व भएको जग्गा भन्दा पनि पछिल्लो समय जङ्गल फँडानी गरेर खेती गरेको फेला परेका छौ ।’’

जङ्गलको भीरपाखामा गाँजाको बगान फेला परेको भए पनि कसले लगाएको हो भन्ने एकिन गर्न कठिन रहेको छ । घनाजङ्गल भित्रनै कतिपय ठाउँमा बाख्रापालन गरेर गाँजाको लागि मल तयार गर्ने गरेको समेत प्रहरीले फेला पारेको छ । प्रहरीको सक्रियता बढेसँगै यसको खेती गर्ने तरिका पनि फेरिएकाले अभियानलाई अझ प्रभावकारी बनाइने प्रहरीले जनाएको छ ।

 अभियान अन्र्तगत अहिलेसम्म २०२ रोपनी क्षेत्रमा लगाएको गाँजा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख प्रहरी नायब उपरीक्षक नरबहादुर समालीमगरले बताउनुभयो । प्रमुख मगरले भन्नुभयो‘ “यो अभियान भोजपुरमा मात्र नभएर देशभर नै चलिरहेको छ, हाम्रो जिल्लामा हालसम्म १८ करोड बढीको गाँजा नष्ट गरेका छांै, यो अभियान अझ पनि जारी छ ।’’ 

 ‘‘कतिपय ठाउँमा फँडानी गर्न जाने क्रममा स्थानीयले अवरोध गर्ने कोशिस गरेको पनि मलाई विभिन्न प्रहरी चौकीबाट जानकारी आउने गरेको छ, त्यस्तो ठाउँमा जिल्लाबाट टोली लिएर म आफै जाने गरेको छु’’,प्रमुख मगरले भन्नुभयो।