• गृहपृष्ठ
  • श्रमदानमा खानेपानी आयोजनाः स्थानीयवासी खुशी

श्रमदानमा खानेपानी आयोजनाः स्थानीयवासी खुशी

Nov 7th, 2019

बेझाड, २१ कात्तिक (रासस)

– सुशीला रेग्मी

 रामपुर नगरपालिका–१० गेझाको माथिल्लो मनभागा छाप क्षेत्रमा स्थानीयवासीको श्रमदानमा खानेपानी आयोजना निर्माण भएको छ ।

एक गाग्री पानी लिनका लागि दुईदेखि तीन घण्टासम्म समय लगाएर खानेपानीको जोहो गर्न बाध्य यहाँका स्थानीयवासीले श्रमदान र रकम उठाएर लिफ्टिङ प्रणालीबाट गाउँमा खानेपानी लगेका हुन् । खानेपानी आयोजना निर्माणका लागि १९ घरधुरीबाट प्रतिघरधुरी रु १९ हजार २०० का दरले कुल रु तीन लाख ६४ हजार ८०० रकम रकम सङ्कलन गरिएको थियो । यस आयोजना निर्माणमा रामपुर नगरपालिकाले रु १३ लाख सहयोग गरेको छ ।

कुल रु १६ लाख ६४ हजार ८०० को लागतमा गाउँमा लिफ्टिङ प्रणालीमार्फत खानेपानीको सुविधा पु¥याइएको मनभागा लिफ्टिङ खानेपानी आयोजनाका अध्यक्ष भीमबहादुर सिङ्जालीले बताउनुभयो । खानेपानी आयोजना सम्पन्न गर्न यहाँका १९ घरपरिवारका स्थानीय उपभोक्ताबाट एक सय जनाको जनश्रमदान परेको छ ।

“वर्षौँदेखिको खानेपानी समस्या समाधानमा आएको छ, पानीको सुविधा पुगेपछि तरकारी, फलफूल खेती गरेर आयस्रोत बढाउनेतर्फ स्थानीयवासी लागेका छन्”, उहाँले भन्नुभयो । यस खानेपानी आयोजनाबाट यहाँका १९ घरधुरीका स्थानीयवासी प्रत्यक्ष लाभान्वित भएका छन् । थप छ घरपरिवारलाई खानेपानी वितरण गर्ने तयारी भइरहेको अध्यक्ष सिङ्जाली बताउनुहुन्छ ।

बस्तीदेखि करीब ५६० मिटर तल रहेको किर्लोखोला र ढुसिनी गैराको पानीलाई लिफ्टिङ गरेर माथि गाउँमा लगिएको हो । पिउनेपानी, गाई–भैँसीलाई खुवाउन, लुगा धुन, नुहाउन गाउँमा पानीको कुनै पनि स्रोत नहुँदा यहाँका स्थानीयवासीले निकै समस्या भोग्दै आइरहेका थिए । पानी बोक्दैमा बिहान बित्ने गरेको स्थानीयवासी बिनिता ठाडाको भनाइ छ । “बिहान साढे दुई बजेपछि उठेर गाग्री बोकेर पानी लिन जाने हो, अबेर गइयो भने पानी भर्ने पालो पाइँदैनथ्यो, पानी बोक्दैमा बिहान बित्थ्यो”, उहाँले भन्नभयो ।

श्रीमान् विदेश, बच्चाबच्चीको हेरचाह, गाई–भैँसीलाई घाँसपात, मेलापात, दुई÷तीन घण्टा लगाएर एक्लै पानी बोक्नुपर्ने समस्या झेल्नुभएकी ठाडा अहिले भने गाउँमै पानी पाएपछि दङ्ग हुनुहुन्छ । गाउँमा खानेपानीको सुविधा पुगेपछि मेलापात, घरायसी धन्दा, गाई–भैँसीको हेरचाह गर्न सजिलो भएको उहाँले बताउनुभयो । 

रम्भा गाउँपालिकाको वीरकोट मोचाबारीमा रहेको धरमपानीको मुहानबाट विसं २०३९/४० देखि नै पाइपबाट ल्याइएको पानी यहाँका स्थानीयवासीले उपभोग गर्दै आएका थिए । विस्तारै पानी सुक्दै जाँदा विसं २०५७/५८ देखि गाउँमा खानेपानीको अभाव सिर्जना हुनथालेको हो । पानीको समस्याले कुनै पनि पेशा–व्यावसाय गर्न नपाइएको उपभोक्ता तुला सारुले बताउनुभयो । 

“प्रशस्त जग्गा भए पनि पानी नभएपछि राम्रो उत्पादन हुने जग्गा बाँझिन पुगे, अब पानी आएपछि पुनः बाँझिएका जग्गा प्रयोगमा आउन थालेको छ”, सारुले भन्नुभयो । पानीको सुविधा पुगेपछि अहिले गाउँमा कृषि तथा पशुपालन व्यावसायमा चहलपहल बढ्न थालेको छ । पहिला माथिल्लो मनभागा र छापगाउँमा गरी करीब ५० घरपरिवारको बसोबास थियो ।

खानेपानीकै समस्याका कारण कोहीले बस्ती नै छाडेर अन्यत्र बसाइँसराइ गरेका थिए । अहिले दुई गाउँमा करीब २६ घरपरिवारको बसोबास छ । यो क्षेत्र रामपुर नगरपालिकाको केन्द्रदेखि सबैभन्दा टाढा र विकट क्षेत्रमा पर्छ । यहाँ वर्षौँदेखि खानेपानीको अभाव हुँदा पनि समस्या समाधानमा कसैको ध्यान नजाँदा स्थानीयवासीले एक गाग्री पानी लिनका लागि दुईदेखि तीन घण्टाको समय खर्चनुपथ्र्यो । पानी बोक्दैमा दिन बिताउन बाध्य यहाँका स्थानीयवासी अहिले भने गाउँमै पानी उपभोग गर्न पाउँदा खुशी भएका छन् ।