• गृहपृष्ठ
  • जनगायक शर्माका छोराको उपचारका लागि साहित्यकारको सहयोग

जनगायक शर्माका छोराको उपचारका लागि साहित्यकारको सहयोग

Nov 7th, 2019

दमौली, २१ कात्तिक (रासस)

जनगायक जीवन शर्माका छोराको उपचारका लागि जिल्लाका साहित्यकारहरुले आर्थिक सहयोग गरेका छन् । 

प्रगतिशील लेखक सङ्घ र शुक्ला साहित्य सङ्गम तनहुँको पहलमा शर्माका छोरा अर्जुन शर्माको उपचारका लागि रु ४२ हजार ४० सहयोग गरिएको हो ।

घाँटीको नलीमा जटिल समस्या देखिएर त्रिवि शिक्षण अस्पतालमा उपचाररत शर्माको सहयोगार्थ सञ्चालन गरिएको सहयोग अभियानबाट सङ्कलित उक्त रकम बुधबार ग्लोबल आइएमई बैंकमा रहेको अर्जुनको खातामा पठाइएको प्रगतिशील लेखक सङ्घ तनहुँका अध्यक्ष नारायण श्रेष्ठले जानकारी दिनुभयो । “शर्मा परिवारमा परेको पीडामा साथ दिन सहयोग अभियान सञ्चालन गरेका थियौँ”, श्रेष्ठले भन्नुभयो, “दुवै संस्थामा आबद्ध तथा अन्य केही व्यक्तिहरुले स्वतःस्फूर्त रूपमा सहयोग प्रदान गर्नुभयो ।”

श्रेष्ठका अनुसार सङ्घमार्फत रु २७ हजार ४९० र सङ्गममार्फत रु १४ हजार ५५० सहयोग सङ्कलन भएको थियो । शर्माको उपचारका लागि अमेरिकाबाट पनि रु ११ हजार २३५ सहयोग प्राप्त भएको छ । त्यस्तै दुवै संस्थाका पदाधिकारी र सदस्यले पनि सहयोग गरेका छन् । केही दिनअघि मात्रै सांसद कृष्णकुमार श्रेष्ठले आफूले प्राप्त गर्ने पारिश्रमिकवापतको रु ५० हजार, नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० केन्द्रीय सदस्य एवं संसदीय दलका सचेतक शान्ता चौधरी र नेतृ भगवती न्यौपानेको पहलमा रु ६० हजार शर्माको उपचारका लागि प्रदान गरिएको थियो । 

मिर्गौलापीडितलाई डेढ लाख सहयोग

दुवै मिर्गौला फेल भई काठमाडौँमा उपचार गराइरहनुभएका तनहुँको म्याग्दे गाउँपालिका–४ थर्पुका सोमनारायण श्रेष्ठलाई देउसीभैलोबाट सङ्कलित रु एक लाख ५५ हजार आर्थिक सहयोग गरिएको छ । तिहारको अवसरमा तीनकुने टोलले देउसीभैलो खेलेर सङ्कलन गरेको उक्त रकम श्रेष्ठको उपचारका लागि प्रदान गरिएको हो ।

मिर्गौलापीडित श्रेष्ठको उपचारार्थ सहयोग गर्ने उद्देश्यले खेलिएको देउसीभैलोबाट सङ्कलित रकम श्रेष्ठका श्रीमती सरस्वती श्रेष्ठलाई प्रदान गरिएको संयोजक सुजन श्रेष्ठले जानकारी दिनुभयो । “आफ्नो गाउँ–ठाउँको व्यक्तिलाई परेको पीडामा साथ दिन केही सहयोग सङ्कलन गर्न सफल भएका छौँ”, श्रेष्ठले भन्नुभयो, “यो रकमले पीडितको उपचारमा केही भए पनि सहयोग पुग्नेछ ।”

मिर्गौलापीडितका श्रीमती सरस्वतीले घरको अवस्था कमजोर रहेकाले श्रीमान्को उपचारका लागि कठिनाइ भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार छ महिनाअघि मिर्गौला फेल भएर डायलासिस गराइरहनुभएका श्रेष्ठको मष्तिकमा पनि समस्या देखिएपछि शल्यक्रिया गरिएको छ । हाल उहाँको काठमाडौँस्थित सुमेरु अस्पतालमा उपचार भइरहेको छ । 

श्रेष्ठको आर्थिक अवस्था कमजोर रहेकाले उपचारमा सहयोग पु¥याउने उद्देश्यले नेवाःखलको सक्रियतामा पनि रकम सङ्कलन अभियान सञ्चालन भइरहेको संस्थाका निवर्तमान अध्यक्ष भीमलाल श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार पहिलो चरणमा सङ्कलन भएको रु तीन लाख २३ हजार यसअघि नै प्रदान गरिसकिएको छ । थर्पुस्थित मीन माध्यमिक विद्यालयका सहायक कर्मचारी श्रेष्ठलाई कल्याणकारी कोषमार्फत पनि रु ५२ हजार सहयोग प्रदान गरिसकिएको छ ।