• गृहपृष्ठ
  • कास्की–२ मा काङ्ग्रेस उम्मेदवारमा पौडेल

कास्की–२ मा काङ्ग्रेस उम्मेदवारमा पौडेल

Nov 7th, 2019

पोखरा, २१ कात्तिक (रासस)
नेपाली काङ्ग्रेसले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि कास्की क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यका लागि पार्टीका नेता खेमराज पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय समितिको पदाधिकारी बैठकबाट पौडेललाई उम्मेदवार बनाउने निर्णय भएको नेपाली काङ्ग्रेस कास्कीका सचिव सुदीपमोहन भट्टराईले जानकारी दिनुभयो ।

निर्वाचनका लागि आज उम्मेदवार मनोनयनको कार्यतालिका तय भइसकेकामा हिजो मात्रै काङ्ग्रेस उम्मेदवारबारे टुङ्गोमा पुगेको हो । उम्मेदवारका लागि १६ जना आकाङ्क्षी मध्येबाट पौडेलको नाम छनौट गरिएको हो ।

पार्टीले आफूले नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली समाजको रुपान्तरणमा पु¥याएको योगदानको मूल्याङ्कन गरी उम्मेदवारी दिएको बताउँदै उहाँले निर्वाचनमा जित हासिल गर्ने दाबी गर्नुभयो । कास्की क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको निधन भएका कारण रिक्त पदमा निर्वाचन हुन लागेको हो ।

निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले स्व अधिकारीकी धर्मपत्नी विद्या भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ भने साझा पार्टीले रजनी केसीलाई उम्मेदवार बनाएको छ । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले रोमबहादुर भण्डारी, समाजवादी पार्टीले धर्मराज गुरुङ र विवेकशील नेपालीले जमुना शर्मालाई उम्मेदवारका रुपमा अघि सारेको छ ।