• गृहपृष्ठ
  • बजार महंगी राष्ट्र बैंकको नियन्त्रण बाहिर, कर्मचारी तलब बृद्धिको भार खेप्दै आमउपभोक्ता

बजार महंगी राष्ट्र बैंकको नियन्त्रण बाहिर, कर्मचारी तलब बृद्धिको भार खेप्दै आमउपभोक्ता

Nov 7th, 2019

काठमाडौं, २१ कात्तिक 
बजारको महंगी राष्ट्र बैंकको नियन्त्रण बाहिर गएको देखिएको छ । मुद्रास्फितीलाई ६ प्रतिशतको सिमाभित्रै राख्ने भनिएपनि अहिले बजारको महंगी सिमा बाहिर अर्थात ६ दशमलव ५६ प्रतिशत छ ।  यसको लाभ व्यापारी र बिचौलियाले उठाएका छन् भने आमउपभोक्ता मारमा परेका छन् । कर्मचारीको तलब बृद्धि र सरकारको बजार अनुगमनको अभावमा महंगी सिमा बाहिर गएको हो । राष्ट्र बैंकका अनुसार बिगत तीन वर्षसम्म  महंगी निरन्तर  सिमा मै थियो । 

 अर्थमन्त्री युवराज खतिवडाले यो वर्षको बजेट सार्वजनिक गर्दै अधिकृत र त्यो भन्दा माथिल्लो तहका कर्मचारीको १८ प्रतिशतले तलब बृद्धि गरे । त्यसैगरि अधिकृतभन्दा तल्लो तहका कर्मचारीको २० प्रतिशतले तलब बढाइयो । जसले अहिले बजारमा ६ दशमलव ५६ प्रतिशतको महंगी बढाएको छ। 

बिगत १० वर्षमा निरन्तर ३ वर्ष तलब नबढेको आर्थिक वर्ष २०७३/०७४ देखि गत वर्षसम्म हो । जसका कारण  यो तीन वर्षको बिचमा मूल्यबृद्धि ५ प्रतिशतको सिमामा रहेको थियो । जबकी आर्थिक वर्ष २०६५/०६६ देखि २०७१/०७२ को बिचमा मूल्यबृद्धि ७ देखि १२ प्रतिशतसम्म बढेको थियो ।

जब जब कर्मचारीको तलब बढ्छ तब बजारमा मूल्य आकासिएको देखिन्छ । आर्थिक वर्ष २०६५/०६६ मा निजी तथा सरकारी कर्मचारीको तलब १५ दशमलव ३ प्रतिशतले बढेको थियो । त्यो बेला मूल्य बृद्धि दश वर्ष यताकै उच्च अर्थात १२ दशमलव ६ प्रतिशतले बढ्यो । त्यसैगरि २०६६ सालमा बढेको कर्मचारीको तलबले ९ दशमलव ६ प्रतिशतले मूल्यबृद्धि बढायो भने २०७१ सालमा बढेको तलबले ७ दशमलव २ प्रतिशतले तलब बढायो ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत यो वर्ष महंगीलाई ६ प्रतिशतको सिमामा राख्ने बताएको थियो । तर  भदौ मसान्तसम्ममा नै मूल्यबृद्धि ६ दशमलव एक ६ प्रतिशतले बढेको देखिएको छ । यसले  राष्ट्र बैंक मूल्यबृद्धि नियन्त्रणमा असफल हुन लागेको देखिएको छ । आयात सहज हुँदाहुादै देशमा  किन महंगी आकासियो  भनेर अब  सरकारले अध्ययन तथा अनुसन्धान गर्नु जरुरी छ ।