• गृहपृष्ठ
  • टरिगाउँ विमानस्थलको स्तरवृद्धि गर्न पहल गर्छु : प्रचण्ड

टरिगाउँ विमानस्थलको स्तरवृद्धि गर्न पहल गर्छु : प्रचण्ड

Nov 6th, 2019

दाङ, २० कात्तिक (रासस)

पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दाङको टरिगाउँ विमानस्थलको स्तरवृद्धि गर्नका लागि आफूले पहल गर्ने बताउनुभएको छ । तुलसीपुरमा आज तुलसीपुर उद्योग वाणिज्य सङ्घका पदाधिकारीसँगको भेटघाटका क्रममा अध्यक्ष दाहालले वर्तमान अवस्थामा सञ्चालन भइरहेको दाङ विमानस्थलको बिस्तार गर्न आवश्यक रहेकोसमेत धारणा व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “म पटकपटक स्थलगत अनुगमनमा समेत गइसकेको छु, वर्तमान अवस्थामा तत्काल धावनमार्गको बिस्तार गरेर एक हजार २०० मिटर गराउँदा ठूला जहाज पनि बस्नसक्ने अवस्था रहेको छ, यसमा राज्यले थप लगानी गर्नुपर्छ ।”

तुलसीपुर उद्योग वाणिज्य सङ्घले पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका दाहाललाई तीनबँुदे ज्ञापनपत्रसमेत बुझाएर यस क्षेत्रको विकास निर्माणका बारेमा ध्यानाकर्षण गराएको छ । त्यस अवसरमा सङ्घका अध्यक्ष वीरबहादुर रावतले दाङ विमानस्थलमा नियमितरूपमा हवाईसेवा सञ्चालन गर्नका लागि इन्धन डिपो स्थापना गर्नुपर्ने, दाङको नारायणपुरमा स्थापना गर्न लागेको अन्तरराष्ट्रिय विमानस्थलको प्रक्रिया तत्काल अगाडि बढाउनुपर्ने मागसहितको ज्ञापनपत्र बुझाउनुभएको हो ।

त्यसैगरी प्रदेश नं ५ भित्रका सबै जनतालाई पाएकपर्ने स्थानमा तत्काल केन्द्र तोक्नुपर्ने र तुलसीपुर उद्योग वाणिज्य सङ्घले निर्माण गर्न लागेको सभाहल अन्तिम चरणमा पुगेको हँुदा पब्लिक पाटर्नसिपको अवधारणालाई अगाडि बढाउन राज्यकोषबाट केही सहयोग आवश्यक रहेको ज्ञापनपत्रमा उल्लेख्य गरिएको छ । ज्ञापनपत्रमा निजी क्षेत्रको व्यावसायिक सुरक्षा र लगानिमैत्री वातावरणको सिर्जना हुनुपर्ने उल्लेख गरिएको छ ।