• गृहपृष्ठ
  • दक्षिणी थाइल्याण्डमा विद्रोहीद्वारा १५ जना सर्वसाधारणको हत्या

दक्षिणी थाइल्याण्डमा विद्रोहीद्वारा १५ जना सर्वसाधारणको हत्या

Nov 6th, 2019

याला, थाइल्याण्ड, २० कात्तिक (रासस/एएफपी)

दक्षिणी थाइल्याण्डमा सक्रिय शंकास्पद मुस्लिम विद्रोहीको आक्रमणबाट कम्तीमा १५ जनाको मृत्यु भएको थाई सेनाले जनाएको छ । थाइल्याण्डको दक्षिणी क्षेत्रमा विगत १५ वर्षदेखि रक्तपातपूर्ण सङ्घर्ष भइरहेको छ । 

थाइल्याण्डको दक्षिणमा अवस्थित तीनवटा प्रान्तमा जारी विद्रोही आक्रमणमा हालसम्म सात हजारभन्दा बढी सर्वसाधारणको ज्यान गइसकेको छ । मलाया–मुस्लिम विद्रोहीहरुले बढी स्वायत्तताको माग राखी सशस्त्र आन्दोलन गरिरहेका छन् ।

यो क्षेत्रमा थाई सरकारले सैनिक कानुन लगाएको छ । यहाँ सैनिक र प्रहरीको बाक्लो उपस्थिति रहनुका साथै तालिमप्राप्त नागरिक स्वयमसेवी परिचालन गरिएको छ । स्थानीयबासी र अधिकारकर्मीहरुले सैनिक कानुनका कारण स्थानीयबासीले कठिनाई भोग्नु परेको बताउँदै आएका छन् ।

गत मङ्गलबार विद्रोहीहरुले याला प्रान्तका दुई वटा जाँच चौकीमा आक्रमण गरेका थिए । सेनाका प्रवक्ता प्रमोट प्रोम–इनले आक्रमणका कारण १२ जनाको घटनास्थलमै र तीन जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जानकारी दिनुभयो । 

आक्रमणकारीले एम–१६ राइफल र सटगन समेत लुटेर लगेको जानकारी दिँदै उक्त क्षेत्रमा सैनिक परिचालन गरिएको र आक्रमणकारीको खोजी तिब्र बनाएको बताउनुभयो । 

थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान–ओ–चाले आक्रमणकारीलाई न्यायको कठघरामा ल्याइने बताउनु भएको रक्षा मन्त्रालयका प्रवक्ता कोङचीप तान्त्राभानिचले उल्लेख गर्नुभयो ।

मलेसियासँग सीमा जोडिएको यस क्षेत्रमा सक्रिय विद्रोहीले बौद्धमार्गी बहुल थाई सरकार विरुद्ध सशस्त्र सङ्घर्ष गरेको वर्षौं भइसकेको छ । यो क्षेत्र एक सय वर्षभन्दा अघि थाइल्याण्डले अधीनस्थ गरेको थियो ।