सामुदायिक घरवास सञ्चालनमा

Nov 6th, 2019

रारा, २० कात्तिक (रासस)

मुगुको पूर्वी क्षेत्रमा पर्ने लामा समुदायको बसोबास रहेको मुगुम कार्मारोङ गाँउपालिका–८ माङ्ग्रीगाँउमा स्थानीयवासीले सामुदायिक घरवास (होमस्टे) सञ्चालनमा ल्याएका छन् ।

सदरमुकाम गमगढीबाट पाँच घण्टा टाढा पर्ने माङ्ग्रीगाउँका १५७ घरधुरी लामा समुदाय बसोबास गर्छन् । पहिलो चरणमा करानी समुदाय संस्था केसीडेसीले २५ घरधुरीलाई घरवाससम्बन्धी तालीम उपलब्ध गराएपछि २५ घरधुरीले सामुदायिक घरवास सञ्चालनमा ल्याएका हुन् । माङ्ग्रीगाउँका २५ घरधुरीले सञ्चालनमा ल्याएको घरवास जिल्लाकै पहिलो सामूहिक घरवास हो । 

घरवास सञ्चालनका लागि गाउँपालिकाको समन्वयमा करानी समुदायिक संस्थाले पाँचदिने घरवाससम्बन्धी तालीम सञ्चालन गरेको थियो । उक्त गाउँपालिका पर्यटक भित्र्याउने राम्रो सम्भावना भएको क्षेत्र भएकाले आन्तरिक तथा बाह्य पर्यटकलाई खान, बस्नमा कुनै समस्या नपरोस् भनेर  घरवासमा पाइने सबै सेवासुविधा उपलब्ध गराइएको घरवास व्यवस्थापन समितिका संयोजक छिरिङतोर्चे लामाले बताउनुभयो ।

सो गाउँको बाटो भएर आन्तरिक तथा बाह्य पर्यटक डोल्पाको शे–फोक्सुण्डो तथा सोही गाउँपालिकाको वडा नं १ मा रहेको छायाँनाथधाम र उपल्लो मुगु जाने आउने गर्छन् । यहाँ जाने आउने पर्यटक तथा अन्य व्यक्तिका लागि सो गाउँमा एक मात्र होटल छ । होटल त्यति व्यवस्थित छैन । घरवास सञ्चालनमा आएपछि बस्न–खानका लागि कसैलाई समस्या छैन । 

यहाँ पुग्ने जोकोही आफू बस्दासम्म चाहेअनुसारको स्थानीय खानाका परिकार, लामा समुदायको परम्परागत धार्मिक संस्कृतिको अवलोकन र मनोरञ्जनको समेत व्यवस्था मिलाइएको छ । उक्त व्यवसाय फस्टाए आउँदा वर्षमा अरु घरधुरीलाई समेत समेट्ने वडाध्यक्ष धोर्वाछिरिङ लामाले बताउनुभयो । जिल्लाको छायाँनाथ रारा नगरपालिका–९ मुर्माको माझघट्टमा नेपाल सरकारको सहयोगमा निर्मित भवनमा तथा वडा नं ४ र ५ का दुई स्थानमा प्रदेश सरकारको आर्थिक सहयोगमा घरवास सञ्चालनमा छन् । 

माङ्ग्रीगाउँका २५ घरधुरीले पाँचदिने घरवास सञ्चालन तालीमबाहेक कतैबाट सहयोग नलिई सामूहिक घरवास सञ्चालन गरेका छन् । गाउँमा आउने पाहुनालाई व्यवसाय सञ्चालन गर्ने घरका सबैले खादा लगाइदिएर स्वागत गर्छन् भने बाटोमै घरवासमा पाइने परिकारको मूल्यसूची टाँस गरिएको छ । पाहुनालाई पालैपालो गरी प्रत्येक घरवास सञ्चालन गरेका घरमा राख्ने व्यवस्था मिलाएकाले यहाँको घरवास व्यवसाय अन्य स्थानका भन्दा फरक र सेवामुखी रहेका बुद्ध माध्यमिक विद्यालयका शिक्षक धीरेन्द्रबहादुर शाही बताउनुहुन्छ ।

जिल्लामा रहेका पर्यटकीयस्थलको दृश्यावलोकन गर्न वर्षेनी हजाराँै पर्यटक मुगु आउने भएकाले यहाँ चलाइएको सामुदायिक घरवास सफल भएमा जिल्लामा रहेका राराताल, थार्पमष्टा, छायाँनाथ, रुम विजयी, खेस्मालिका, ऋणीमोक्क्ष, चङ्खेली, गडुलनानी, दूधतालजस्ता प्रमुख पर्यटकीय क्षेत्रमा समेत समुदायले प्रत्यक्ष फाइदा उठाउने गरी स्थानीयवासीले सामुदायिक घरवास व्यवसाय सञ्चालन गर्ने गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाले बताउनुभयो ।