• गृहपृष्ठ
  • कार्यान्वयनमा आएन मार्जिन लेन्डिङ, बैंकको भन्दा महंगो ब्याजदर

कार्यान्वयनमा आएन मार्जिन लेन्डिङ, बैंकको भन्दा महंगो ब्याजदर

Nov 6th, 2019

काठमाडौं,२० कात्तिक 
सेयर ब्रोकर कम्पनीहरुले उपलब्ध गराउने मार्जिन लेन्डिङ सुविधा अहिलेसम्म कार्यान्वयनमा आउन सकेको छैन । बैंकको भन्दा महंगो ब्याजदर र ओरालो लागेको बजारका कारण मार्जिन लेन्डिङ कार्यान्वयनमा आउन नसकेको हो । 

गत असोजमा नेपाल स्टक एक्सचेन्जले ब्रोकरहरुलाई मार्जिन लेन्डिङको सुविधा  दिन अनुमति दिएको हो । अहिलेसम्म ३१ वटा कम्पनीले यसको अनुमति लिएका छन् । तर २२ वटा बाहेक अन्यले यो सेवा सुचारु गर्न सकेका छैनन् ।

सेवा सुचारु गरेका २२ वटामा यो सुविधा उपलब्ध भएपनि अहिलेसम्म कुनै ग्राहकले यस्तो कर्जा लिएका छैनन् । विगत ७ वर्षदेखि सेयर लगानीकर्तालाई छोटो समयका लागि प्रदान गरिने कर्जा अर्थात मार्जिन लेन्डिङको सुविधा उपलब्ध गराउने चर्चा चलेपनि यसको प्रक्रिया भने दुई वर्ष अघि देखि मात्रै सुरु भएको हो । मार्जिन लेन्डिङ कार्यान्वयनमा आएसँगै बजार बढ्ने अपेक्षा थियो । तर अपेक्षा वास्तवीकतामा परिणत हुन सकेन ।

बजार अहिले पनि निरन्तर ओरालो लागेको छ । सेयरबजारका लगानीकर्ताले कमाउने भन्दा गुमाउने बढि भएपछि लगानीकर्ताले खासै लगानी बढाउन चाहेका छैनन् । जसका कारणपनि मार्जिन लेन्डिङ जान नसकेको बिज्ञहरु बताउँछन् ।ब्रोकर कार्यालयबाट पाइने मार्जिन लेन्डिङ कर्जाको अवधि ६ महिनाको हुन्छ ।