निडर, इमान्दार र सादगी नेता शेरचन

Nov 5th, 2019

चितवन, १९ कात्तिक (रासस)

अमिक शेरचन राजनीतिसँगै इमान्दार, सदाचार र सादगी जीवन जिउने थोरै व्यक्तित्वमध्येमा  पर्नुहुन्छ । जीवनको लामो समय भूमिगत र अर्धभूमिगत बिताउनुभएका उहाँ निर्भीक, निडर र इमान्दार  पनि हुनुहुन्थ्यो ।  त्यही सादगी नेता शेरचन अहिले गण्डकी प्रदेशको प्रमुखमा नियुक्त हुनुभएको छ । 

विसं २००६ मा म्याग्दी जिल्लाको ओखरबोटखानी–९ मा जन्मनुभएका बडिबहादुर र उमादेवीका छोरा  उहाँ हाल भरतपुर महानगरपालिका–२६ का स्थायी बासिन्दा  हुनुहुन्छ । युवावस्थादेखि नै वामपन्थी राजनीतिमा झुकाव राख्दै आउनुभएका शेरचन विसं २०३५ मा निर्मल लामाले नेतृत्व गर्नुभएको नेकपा (चौथो महाधिवेशन)को केन्द्रीय सदस्य एवं चितवन जिल्ला सचिव हुनुभएको थियो । तत्कालीन समयमा पञ्चायत विरोधी अभियानमा सक्रिय उहाँले विभिन्न समयमा कारागार जीवन पनि बिताउनुभयो । 

वामपन्थी नेता साध्यबहादुर भण्डारीका अनुसार विसं २०४७ मा तीन पार्टी र त्यसको एक वर्षपछि अरु दुई पार्टी थपिएर बनेको नेकपा (एकता केन्द्र)मा शेरचन केन्द्रीय सदस्य हुनुहुन्थ्यो । शुरुमा नेकपा (मशाल), नेकपा (चौथो महाधिवेशन) र सर्वहारावादी श्रमिक सङ्गठन मिलेर संयोजन समिति बन्यो । पछि त्यसैलाई एकता केन्द्रका रुपमा घोषणा गरिएको थियो ।  नेता भण्डारीले पछि सोही पार्टीको विद्रोही मसाल र रुपचन्द्र विष्टले नेतृत्व गरेको पार्टीसमेत एकता केन्द्रमा समाहित भएको जानकारी दिनुभयो । शेरचन विसं २०४७ मा संयुक्त जनमोर्चाको चितवन जिल्ला अध्यक्ष हुनुभएको थियो । त्यसका केन्द्रीय अध्यक्षमा डा बाबुराम भट्टराई हुनुहुन्थ्यो । नेता भण्डारीका अनुसार विसं २०५१ मा संयुक्त जनमोर्चाबाट डा। भट्टराई र निरञ्जन वैद्य अलग्गिएर छुट्टाछुट्टै पार्टी खोलेपछि विसं २०५४ को जनकपुर सम्मेलनले शेरचनलाई संयुक्त जनमोर्चाका केन्द्रीय अध्यक्ष बनाएको थियो ।

एकता केन्द्र र संयुक्त जनमोर्चाका तर्फबाट विसं २०४८ को निर्वाचनमा उम्मेदवार बन्नुभएका शेरचन चितवन क्षेत्र नम्बर ३ बाट निर्वाचित हुनुभयो । विसं २०५९ मा संयुक्त जनमोर्चा र राष्ट्रिय जनमोर्चा मिलेर बनेको जनमोर्चा नेपालको अध्यक्ष पनि शेरचन नै हुुनुभयो । विसं २०६३ मा सो पार्टी  विघटन भएको घोषणा गरी तत्कालीन नेकपा (माओवादी) मा समाहित भएको थियो  । उक्त पार्टीमा शेरचन स्थायी समिति सदस्य बन्नुभएको थियो । यससँगै उहाँले पार्टीकोअनुशासन कमिटीको अध्यक्षको भूमिका पनि निर्वाह गर्नुभएको थियो । शेरचन विसं २०६३ मा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा उपप्रधान एवं  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीसमेत बन्नुभएको थियो ।

विसं २०६४ को पहिलो संविधानसभाको निर्वाचनमा उहाँ चितवन क्षेत्र नम्बर ५ बाट विजयी हुनुभएको थियो । राज्य विद्रोहको मुद्दा लागेर पटकपटक हिरासतमा रहँदा त्यही प्रहरीलाई समेत कुटपिट गर्नुभएका शेरचन कम्युनिष्ट नेताहरुमध्येका साहसी नेता भएको उहाँसँग निकट रहेर राजनीति गर्नुभएका माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले बताउनुभयो । शेरचन नेकपा एमाले र माओवादी केन्द्रको एकतापछि हाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको आमन्त्रित सदस्य हुनुहुन्छ ।