• गृहपृष्ठ
  • राहदानी फ्याँकेर अटो समाउँदै रोल्पाली युवा

राहदानी फ्याँकेर अटो समाउँदै रोल्पाली युवा

Nov 5th, 2019

–उमा केसी
रोल्पा, १९ कात्तिक (रासस)

युगाण्डा र मकाउ गरी ८ वर्ष वैदेशिक रोजगारीमा बिताएका रोल्पा नगरपालिका–९ ह्वामाका मदन बुढा अहिले रोल्पा सदरमुकाम लिवाङमा अटो चलाउँछन् । स्वदेशमा रोजगारीका अवसर नभएको भन्दै विदेश हानिएका उनी लामो समय देश बाहिर रहे । त्यहाँको कमाइले घरको कमजोर आर्थिक अवस्थामा खासै परिवर्तन नआएपछि दोहो¥याएर विदेश नजाने निष्कर्षमा पुगे, पाँच लाख लगानी गरेर अटो खरिद गरे र आफंै चलाए । उनी अहिले सदरमुकाम आसपासका ग्रामीण क्षेत्रलाई समेत लक्ष्य गरी अटोमा यात्रु बोक्छन् ।  

रोल्पा नगरपालिका–४ लहरी खोलाका टीकाबहादुर केसी २ वर्ष कतार बसे । रोजगारीको कुनै अवसर नदेखेपछि उनी २ वर्ष अघि कतार गएका हुन् । जोखिमपूर्ण काम गर्दा कतिबेला मृत्युको मुखमा पुगिने हो भन्ने त्रासका बीच २ वर्षको कतार बसाइलाई बिट मारेका उनले यहाँ अटो चलाउन शुरु गरे । विदेशमा कमाएको पैसाले नपुगे पछि ऋण लिए र ५ लाखमा अटो खरिद गरे । उनी अहिले सदरमुकाम र आसपासका बजार क्षेत्रमा अटो चलाउने गर्छन् ।
रोल्पा नगरपालिका–९ गर्पाका सन्तोष परियार ५ वर्ष मलेसिया र २ वर्ष साउदी अरब गरी ७ वर्ष विदेश बसे । विदेश गएर कमाएको पैसाले सदरमुकाम लिवाङमा राम्रो घर बनाउने र गाडी किन्ने चाहना थियो उनको । सात वर्षसम्म विदेशमा पसिना चुहाएपनि उनले न लिवाङमा घर किन्न सके न त गाडी नै । गाडी किन्ने सपना बोकेका उनी अहिले अटो किनेर त्यसैको चालक बनेका छन् । विदेश जाँदा साहुबाट लिएको ऋणको सांवा र ब्याज भने उनले जसोतसो तिर्न सके । 

तीस वर्षभन्दा कम उमेर समूहका रोल्पाली युवाका प्रतिनिधि पात्र हुन् मदन, टीका र सन्तोष । घरको आर्थिक अवस्था कमजोर भएका उनीहरु सकेसम्म स्वदेशमै काम गर्न चाहन्थे । स्वदेशमा काम गर्ने अवसर नपाएपछि तीनै जना विदेशिएका थिए । युवावयको धेरै समय विदेशी भूमिमा खर्चिएका उनीहरु उमेर चढेसँगै विदेश जाने मोह घट्न जाँदा स्वदेशमै स्वरोजगार बन्न अटो व्यवसाय रोजेका हुन । मदन, टीका र सन्तोष मात्र हैन रोल्पाका ४५ जना भन्दा बढी वैदेशिक रोजगारीबाट फर्किएका युवक राहदानी फ्याँकेर जिल्लामै अटो चलाउन थालेका छन् । रोल्पा नगरपालिकाको लिवाङ बजार र रोल्पा आसपासका क्षेत्र, माडी गाउँपालिकाको घर्तीगाउँ, सुनिल स्मृति गाउँपालिकाको सुलिचौर, रुन्टीगढी गाउँपालिकाको होलेरी लगायतका क्षेत्रमा अटो सञ्चालन हुँदै आएको छ । जिल्ला सदरमुकामलाई आधार बनाई वराहदेवता अटो व्यवसायी समिति र मधुरमा अटो व्यवसायी समिति सक्रिय छन् । दुवै समितिमा गरी ५५ जनाभन्दा बढी अटोसँग आवद्ध रहेको वराहदेवता अटो व्यवसायी समितिका उपाध्यक्ष कुलबहादुर विकले जानकारी दिए । विकका अनुसार दुवै समितिमा आवद्ध रही अटो सञ्चालन गर्नेमध्ये ४५ जना वैदेशिक रोजगारीबाट फर्किएकाहरु हुन् । 

यो पेशाबाट दैनिक सरदर एक हजार ५०० जति आम्दानी हुने गरेको अटो व्यवसायीहरुले बताएका छन् । सामान्य अवस्थामा पनि दैनिक एक हजार ५०० जति आम्दानी गर्ने उनीहरुको सदरमुकाममा हुने विशेष कार्यक्रमहरुमा भने कमाइ पनि बढ्ने गर्दछ । कार्यक्रम पर्दा त दैनिक आठ हजारसम्म आम्दानी हुने गरेको व्यवसायी रामबहादुर डाँगीले बताए । “रिजर्भ गरेर सदरमुकाम बाहिर जानु पर्दा अतिरिक्त कमाइ हुन्छ,” डाँगीले भने । सदरमुकामदेखि रांसीसम्म रिजर्भमा लैजाँदा आफूले १२ हजारसम्म आम्दानी गरेको डाँगीले बताए ।

सदरमुकाम लिवाङलाई आधार बनाएर अटो चलाउनेहरुका लागि नगरपालिकाले सीमा समेत निर्धारण गरिदिएको छ । नगरपालिकाले तोकेको क्षेत्रभित्र अटो चलाउँदा पनि ट्राफिक प्रहरीले दुःख दिने गरेको व्यवसायीहरुको गुनासो छ । बजार क्षेत्र बाहिर अटो लैजाँदा जरिवाना स्वरुप ५०० रुपैयाँ दण्ड तिराएर ट्राफिकले सताउने गरेको उनीहरुको भनाइ छ । “सानो लगानीमा स्वरोजगार हुँदै जनतालाई अत्यावश्यकीय सेवा दिँदै आए पनि ट्राफिकको पटक पटकको हैरानीले कहिलेकाहीँ निराश बनाउँछ,” एक व्यवसायीले भने ।  

नगरपालिकामा अटो भित्रिएसँगै नगरवासीलाई आउजाउमा निकै सहज भएको छ । व्यक्तिगत सवारी साधन नहुनेहरुका लागि अटोले निकै सघाउ पु¥याएको रोल्पा नगरपालिका–४ का बेगम केसीले बताइन् । “सदरमुकाम लिवाङबाट झण्डै ५ किलोमिटरको दूरीमा रहेको जिल्ला अस्पताल, झण्डै ३ किलोमिटर दूरीमा रहेको नेपाल विद्युत् प्राधिकरण जस्ता जनताको प्रत्यक्ष सम्पर्क हुने कार्यालय आवतजावत गर्न निकै सहज भएको छ,” केसीले भने । जेष्ठ नागरिकहरुका लागि अटो व्यवसायीहरुले भाडा दरमा केही सहुलियतको प्रवन्ध गरिदिनुपर्ने केसीको सुझाव छ ।