• गृहपृष्ठ
  • क्रिकेटः न्यूजील्याण्डद्वारा इङ्ल्याण्ड १४ रनले पराजित

क्रिकेटः न्यूजील्याण्डद्वारा इङ्ल्याण्ड १४ रनले पराजित

Nov 5th, 2019

नेल्सन, १९ कात्तिक (रासस/एएफपी)

न्यूजील्याण्डको नेल्सनमा मङ्गलबार सम्पन्न तेस्रो टी२० क्रिकेट प्रतियोगितामा न्यूजील्याण्डले भ्रमणकारी इङ्ल्याण्डलाई १४ रनले पराजित गरेको छ । 

पाँच खेलको यस शृंखलामा यो जितसँगै न्यूजील्याण्ड २–१ ले अघि भएको छ । 

न्यूजील्याण्डले पहिले ब्याटिङ गर्दै सात विकेटको क्षतिमा १८० रन बनाएको थियो । टस जितेर पहिलो ब्याटिङ रोजेको न्यूजील्याण्डले कोलिन डी ग्रान्डहोमको व्यक्तिगत ५५, मार्टिन गप्टिलको ३३, रस टेलरको २७ रनको मद्दतले उच्च स्कोर खडा गर्न सफल भएको थियो ।

जितका लागि १८१ रनको लक्ष पछ्याएको इङ्ल्याण्डले राम्रो सुरुआत गरे पनि अन्तिम पाँच विकेट १० रनमै गुमाएको थियो । पन्ध्रौं ओभरमा १३९ रन बनाउँदा दुई विकेट मात्र गुमाएको र राम्रो लयमा रहेको इङ्ल्याण्डको टोली त्यसपछि नाटकीय रुपमा पतन भएको थियो ।

इङ्ल्याण्डका लागि डाविड मलान (५५) र जेम्स भिन्स (४९) ले राम्रो आधार तयार गरेका थिए । इङ्ल्याण्डले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १६६ रन मात्र बनाएको थियो ।

हारपछि प्रतिक्रिया दिँदै इङ्ल्याण्ड टोलीका कप्तान इयोन मर्गनले आफ्नो टोलीका नयाँ सदस्यहरुमा अनुभवको कमी देखिएको बताउनुभयो ।