सप्तरीमा हात्तीले घर भत्कायो

Nov 5th, 2019

सप्तरी, १९ कात्तिक (रासस)

कञ्चनरुप नगरपालिका–६ जमुवामा सोमबार हात्तीको समूहले स्थानीयवासी धनेश्वर चौधरीको भान्साघर भत्काएको छ ।

कोशीटप्पु वन्यजन्तु आरक्षबाट आएका तीन जङ्गली हात्तीले फुसको भान्सा घर भत्काई त्यहाँ रहेको अन्नपात खाएको इलाका प्रहरी कार्यालय कञ्चनरुपले जनाएको छ । हात्तीले घर भत्काउँदा र अन्नपात खाँदा रु २५ हजार मूल्य बराबरको क्षति भएको चौधरीले बताउनुभयो । प्रहरी र स्थानीयवासीले हात्तीलाई जङ्गलतर्फ लखेटेका छन् ।

शनिबार राति र आइतबार बिहान अग्नीसाइर कृष्णसवरण गाउँपालिका वडा नं ६ मोहनपुरस्थित १० घर हात्तीले भत्काएको थियो । आरक्षबाट आएका चार हात्तीले १० घर भत्काएको स्थानीयवासी दुखी यादवले बताउनुभयो । यादवसहित हात्तीले कमानसिंह मगर, मञ्जु कार्की, रोमा परियारलगायतका घर भत्काएको थियो । 

हात्तीको समूहले कोदोबारी, केराबारीसमेत नष्ट गरेको स्थानीयवासीले बताएका छन् । हात्तीको आक्रमणमा परी वर्षेनी मान्छेको ज्यान जानुका साथै सयौँ बिघामा लगाएको अन्नबाली नष्ट पार्दा समेत कुनै निकायले रोकथामका लागि पहल नगरेको स्थानीयवासीको गुनासो छ ।