• गृहपृष्ठ
  • कालङ्गा हाइड्रोपावरको सुरुङमा बेपत्ता चार मजदूरको मृत्यु

कालङ्गा हाइड्रोपावरको सुरुङमा बेपत्ता चार मजदूरको मृत्यु

Nov 4th, 2019

चैनपुर, १८ कात्तिक (रासस)

बझाङको बुङ्गल नगारपालिका–१ मा निर्माणाधीन अवस्थामा रहेको ६५ मेगावाटको कालङ्गा हाइड्रपावरको सुरुङमा चार मजदूरको मृत्यु भएको छ । आइबार दिउसो करीब ३ः०० बजेतिर बुङ्गल नगरपालिकाको सानिगाढको दारिमगाढ भन्ने स्थानमा सुरुङभित्र काम गर्न जाने क्रममा उनीहरु बेपत्ता भएका थिए । 

बेपत्ता भएका मजदूर आज सुरुङमार्गमै मृतावस्थामा भेटिएका छन् । मृत्यु हुनेमा दैलेखका कर्णबहादुर शाही र महेन्द्र शाही, अछामका महेन्द्र साउद र बझाङका शेरबहादुर धामी रहेका इलाका प्रहरी कार्यालय बुङ्गल झापाका प्रहरी सहायक निरीक्षक अम्मर भण्डारीले जानकारी दिनुभयो । सुरुङभित्र काम गर्ने क्रममा एक्कासि गाडी बन्द भएपछि काम गरिहरेका उनीहरु बाहिर आउन नसकेका हुनसक्ने आशङ्का गरिएको छ । 

आइतबार उनीहरुको खोजी कार्यका लागि प्राविधिक टोली प्रयासमा भए पनी सुरुङभित्र अक्सिजनको मात्रा एकदमै कम रेहको भन्दै उक्त टोली काम नगरी फर्किएको थियो । आज हेलिकप्टरमार्फत यन्त्रसहित सशस्त्र प्रहरीको उद्धारटोली आएर खोजीगर्ने क्रममा मृतावस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 
सत्तरी प्रतिशतभन्दा बढी काम भइसकेकाले बाँकी काम गर्ने क्रममा उनीहरुको मृत्यु भएको हो । कालङ्गा हाइड्रोअन्तर्गतको दारिमगाढ सुरुङ करीब एक हजार ४०० मिटर लामो रहेकाले अक्सिजनको व्यवस्था कमी भएका कारण सो घटना भएको हाइड्रोका संस्थापक वीरेन्द्रबहादुर मल्लले बताउनुभयो ।