• गृहपृष्ठ
  • आलमसहित दश जनालाई जन्मकैदको मुद्दा दर्ता

आलमसहित दश जनालाई जन्मकैदको मुद्दा दर्ता

Nov 4th, 2019

रौतहट, १८ कात्तिक (रासस)

सरकारी वकिल कार्यालय रौतहटले नेपाली काङ्ग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमसहित १० जनालाई जन्मकैदसहित तीन वटा कसुरमा जिल्ला अदालत रौतहटमा आज मुद्दा दर्ता गरेको छ । आलमसहित १० जनामाथि रौतहट प्रहरीले कर्तव्यज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थसम्बन्धी गरी तीन वटा मुद्दा दर्ता गरेको सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवालले जानकारी दिनुभएको छ ।

आलमको मुद्दा ९५ नम्बरमा दर्ता गरिएको छ । समय अभावका कारण थुनछेक बहस भने सोमबार नभई मङ्गलबारबाट मात्रै हुने भएको छ । बाह्र वर्षअघि रौतहटमा इँटा भट्टाभित्र जिउँदै मान्छे जलाएको भन्ने अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले मुद्दा चलाउने निर्णय गरेको हो । आलमसहितका व्यक्तिले २०६४ चैत २७ गते यमुनामाई गाउँपालिकाका त्रिलोकप्रताप सिंह र ओसी अख्तर मियाँसहितका व्यक्तिलाई इँटाभट्टाको चिम्नीमा हालेर हत्या गरेको भन्दै सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो ।

सरकारी वकिल कार्यालयले आलमसहित उनका भाई मोहम्मद महताब आलम, शेख भदई, मोहम्मद मोविन आलम, शेख सेराज, बद्री सहनी, शेख फजलेहक, सगिर आलम, शेख जुमइन भन्ने शेख मलकार र गौरीशङ्कर साहसमेत विरुद्ध मुद्दा दर्ता गरेको उहाँले जानकारी दिनुभयो । गौरीशङ्कर साहविरुद्ध भने मतियारको रुपमा मुद्दा दायर गरिएको छ ।