• गृहपृष्ठ
  • यमनको युद्धमा चार हजार सुडानी सैनिक मारिएका हुथी समूहको दावी

यमनको युद्धमा चार हजार सुडानी सैनिक मारिएका हुथी समूहको दावी

Nov 3rd, 2019

साना, यमन, १७ कात्तिक (रासस/सिन्ह्वा)

यमनमा सन् २०१५ पछि साउदी नेतृत्वको गठबन्धन सैनिक र यमनी हुथी विद्रोहीबीचको लडार्इँका क्रममा कम्तीमा चार हजार सुडानी सैनिकले ज्यान गुमाएको यमनी हुथी विद्रोही समूहका सैन्य प्रवक्ताले बताएका छन् ।

हुथी विद्रोहीका प्रवक्ता याहया सारेआले अल मसिरा टेलिभिजनमार्फत प्रत्यक्ष प्रशारण गरिएको प्रेस सम्मेलनमा शनिबार भन्नुभयो, “साउदी नेतृत्वको गठबन्धनमा सुडानी सेनालाई अग्रपङ्तीमा पठाइएको र यमनी विद्रोहीको आक्रमणमा करिब चार हजार सुडानी सैनिकको मृत्यु भएको हाम्रो तथ्याङ्क छ ।”

हुथी लडाकूले सयौँ सुडानी सेनालाई लडाईँको मैदानबाट नियन्त्रणमा लिएको उहाँले दावी गर्नुभयो ।

यद्यपि यस दावीबारे साउदी नेतृत्वको यमनी गठबन्धन सेनाले भने यसबारे कुनै प्रतिक्रिया दिइसकेको छैन ।

सुडानले सन् २०१५ यमनमा सयौँको सङ्ख्यामा स्थल सैनिक समूह पठाएको थियो । हुथी समूहलाई इरानको समर्थन प्राप्त रहेको बताउने गरिन्छ ।