• गृहपृष्ठ
  • महराको छुनछेक बहस नसकिएपछि सोमबारका लागि तय

महराको छुनछेक बहस नसकिएपछि सोमबारका लागि तय

Nov 3rd, 2019

काठमाडौँ, १७ कातिक (रासस)

काठमाडौँ  जिल्ला अदालतमा निवर्तमान सभामुख कृष्णबहादुर महरा विरुद्धको करणीसम्बन्धी कसुरमा थुनछेक बहस नसकिएपछि ‘हेर्दाहेर्दै’ सोमबारलाई राखिएको छ ।

जिल्ला न्यायाधीश सुदर्शन पाण्डेको बन्द इजलासमा थुनछेक बहस आजदेखि शुरु  भए पनि बहस नसकिएका कारण हेर्दाहेर्र्दैमा सोमबारका लागि तय भएको हो । काठमाडौँ अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीका अनुसार निर्वमान सभामुख महराका तर्फबाट बहस गर्ने ३२ जना अधिवक्ताले नाम लेखाएका थिए । तीमध्ये आज वरिष्ठ अधिवक्ता लव मैनालीले बहस गर्नुभयो । सरकारी पक्षबाट चार जनाले बहस गर्नुभएको थियो ।

निर्वतमान सभामुख महराको अदालती बयान शुक्रबार र आजका लागि थुनछेक बहस हुने तय भएको थियो । जिल्ला सरकारी वकिलको कार्यालयले महराविरुद्ध करणीसम्बन्धी कसुरमा बिहीबार मुद्दा दर्ता गरेको हो । महराविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दर्ता दफा ३४ को उपदफा ३ बमोजिम मुद्दा दर्ता गरिएको हो । उक्त उपदफामा कसूर गर्न उद्योग गर्ने वा गराउने व्यक्तिलाई त्यस्तो कसुरका लागि तोकिएको सजायको आधा सजाय हुने व्यवस्था छ ।      

संसद् सचिवालयकी कर्मचारीलाई बलात्कारको प्रयास गरेको अभियोगमा गत असोज १९ गते काठमाडौँ जिल्ला अदालतले महरालाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । बहस सकिएपछि महरालाई कारागार पठाउने वा धरौटीमा रिहा हुने भन्ने आदेश हुनेछ ।