सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु

Nov 3rd, 2019

काठमाडौं, कात्तिक १७
नवलपरासी(पूर्व), बिनयी त्रिबेणी गाउँपालिका १ स्थित सडकमा लु.१ च ९२४३ नम्बरको बलेरो जीप शनिबार साँझ अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका जीपका सहचालक बर्दघाट नगरपालिका ४ बस्ने ३० वर्षीय ढाकाराम पंगेनीको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको छ । जीप चालक गैंडाकोट नगरपालिका ८ बस्ने ३२ वर्षीय सन्तोष डमरकोटीको सोही अस्पतालमा उपचार भइरहेको छ ।

सप्तरीको राजबिराज नगरपालिका १५ स्थित सडकमा स.२ प ९३६६ नम्बरको मोटरसाइकल शनिबार साँझ अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार कोईलाडी गाउँपालिका ८ बस्ने २३ वर्षीय बिरोल रायको सगरमाथा अञ्चल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक सोही ठाउँ बस्ने २५ वर्षीय बिरवल रायको सोही अस्पतालमा उपचार भइरहेको छ । 

ललितपुरको ललितपुर महानगरपालिका ४ नख्खु दोवाटोस्थित सडकमा ना.२ ख ८३५४ नम्बरको ट्रकले शनिबार साँझ ठक्कर दिंदा गम्भीर घाइते भएका पैदलयात्री ललितपुर बागडोल बस्ने सोलुखुम्बु चौलाखर्क घर भएका ५० वर्षीय ज्ञानेन्द्र बस्नेतको स्टार अस्पताल सानेपामा उपचारको क्रममा मृत्यु भएको छ ।  ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।