• गृहपृष्ठ
  • कन्टेनरमा फेला परेका सवै मृतक भियतनामी भएको प्रहरीको विश्वास

कन्टेनरमा फेला परेका सवै मृतक भियतनामी भएको प्रहरीको विश्वास

Nov 3rd, 2019

लण्डन, १७ कात्तिक (रासस/सिन्ह्वा )

बेलायतमा केही दिन अगाडी कन्टेनरमा मृत अवस्थामा फेला परेकाहरु भियतनामी नागरिक भएका बेलायती प्रहरीले विश्वास व्यक्त गरेको छ । 
प्रहरी अधिकारीहरुले शुक्रबार बताएअनुसार पछिल्लो अनुसन्धानले उनीहरु सवै जना भियतनामी हुनसक्ने देखिएको बताएका हुन् । 

 उपप्रहरी प्रमुख टिम स्मिथले ३९ वटा शवको अनुसन्धानबाट यस्तो निश्कर्ष निकालिएको जानकारी दिनुभयो । उहाँले अहिलेसम्म कुनै पनि मृतकको सनाखत भने भइनसकेको र पत्ता लगाउने प्रक्रियामै रहेको बताउनुभयो 

स्मिथले आफूहरु भियतनामी सरकारको सम्पर्कमा रहेको र मृतकहरुकोे सनाखत पुष्टि गर्ने प्रमाणहरु संकलन भईरहेको जानकारी दिनु भएको छ । 

यी  व्यक्तिहरुको परिचय पत्ता नलागेको, तर उनीहरुको बारेमा अनुसन्धान र प्रमाण संकलनको काम पनि भइरहेको छ, स्मिथले भन्नुभयो । 

शव भेटिएको केही समयपछि प्रारम्भिक अनुसन्धान गर्दा प्रहरीले उनीहरु सवै चिनियाँ नागरिक हुनसक्ने बताएको थियो । गत अक्टोबर २३ मा ग्रेज एसिक्समा औद्योगिक क्षेत्रमा चिसो तापक्रम हुने व्यवस्था गरिएको कन्टेनरभित्र ती ३९ वटा शव फेला परेको थियो ।

मृत्यु हुनेमा ३१ पुरुष र आठ महिला रहेका छन् । मृत्युको कारण पत्ता लगाउन शवपरीक्षण भइरहेको अधिकारीहरुले जनाएका छन् ।  शव भेटिनुभन्दा केही समयअघि २६ वर्षीया एक महिलाले आफ्नो विदेशयात्रा असफल भएको’ परिवारलाई सन्देश पठाएकी दिएको यसअघि आएको जनाइएको थियो ।

लन्डनस्थित भियतनामी दूतावासले शोकसन्तप्त परिवारप्रति सहानुभूति व्यक्त गर्दै मृतकको शव स्वदेश फिर्ता गर्नका लागि परिवारजनलाई सघाउन सम्बन्धित निकायहरूसँग समन्वय गरिरहेको जनाएको छ । 

प्रारम्भिक विवरणहरूमा सो कन्टेनर बेल्जियमबाट आएको देखिएको छ । शवहरू फेला परेपछि उत्तरी आयरल्यान्डका चालक मोरिस रबिन्सनलाई पक्राउ गरिएको थियो ।