• गृहपृष्ठ
  • सरकारले जनताको भावनाअनुसार काम गरेको छ : मन्त्री अर्याल

सरकारले जनताको भावनाअनुसार काम गरेको छ : मन्त्री अर्याल

Nov 2nd, 2019

ओखलढुङ्गा, १६ कात्तिक (रासस)

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सरकारको काम देखेर विपक्षी तर्सिएको बताउनुभएको छ । शनिबार ओखलढुङ्गाको पोकली झरना सांस्कृतिक महोत्सवको उद्घाटन गर्दै मन्त्री अर्यालले सरकारले जनताको भावनाअनुसार काम गरेर लोकप्रियता कमाएसँगै विपक्षी तर्सिएको बताउनुभएको हो । 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले सबै तहका सरकार र दलबीचमा समन्वय गरेर काम गरिरहेको उहाँको भनाइ थियो ।
 
उहाँले सङ्घीयताको अभ्यास नेपालमा नौलो भएकाले यसको कार्यान्वयनमा चुनौती भए पनि सरकार सबै चुनौती सामना गरेर अघि बढ्न सफल भएको चर्चा गर्नुभयो । 

मन्त्री अर्यालले मुलुक समृद्ध बन्न गाउँ–गाउँदेखि विकासको अभियान थालिएको बताउनुभयो । 

पोकली झरनाजस्ता प्राकृतिक सौन्दर्यता र स्थानीय संस्कृतिको प्रचार गरेर भ्रमण वर्षमा पर्यटक ल्याउन सके विश्वमा नेपालको पहिचान स्थापित हुने उहाँले बताउनुभयो । स्थानीय सरकार र प्रदेश सरकारले प्राथमिकतामा राखेका योजनालाई केन्द्र सरकारले सम्बोधन गर्ने उहाँको भनाइ थियो । 

प्रतिनिधिसभा सदस्य सांसद यज्ञराज सुनुवारले पोकली झरना क्षेत्रमा पूर्वाधार विकासका लागि रु ५० लाख सहयोग गर्ने घोषणा गर्नुभयो । 

नेपाल सरकारका पर्यटन सचिव केदारबहादुर अधिकारीले पर्यटन वर्ष सफल बनाउन सबै संयन्त्र लागिपरेको बताउनुभयो । 

 पोकली झरना र थोलेदेम्बाडाँडालाई सरकारको सय पर्यटकीय गन्तव्यमा पारिएको छ र ककनी, चम्पादेवी, लिब्जुसहितका धार्मिकस्थल सेप्ली, रातमाटेसहितका झरना, चिशङ्खुगढीसहितका क्षेत्र स्रष्टा उद्यानसहितका दर्जनौँ पर्यटकीय क्षेत्रको विकासका लागि गुरुयोजना बनाएर काम भइरहेको छ ।

प्रदेश नं १ का अर्थसमिति सभापति तथा त्यस क्षेत्रका सांसद मोहन खड्काले प्रदेश नं १ पर्यटकीय प्रदेशका रुपमा चिनाउन सरकार लागिरहेको बताउनुभयो । प्रदेश सरकारले पर्यटक प्रवद्र्धनका लागि वर्षेनी प्राथमिकतामा राखेर कार्यक्रम गरिरहेको उहाँको भनाइ थियो । 

पूर्वसांसद रामहरि खतिवडाले वर्तमान सरकार थोरै काम गरेर धेरै प्रचार गर्न अघि बढेको आरोप लगाउनुभयो । दुईतिहाइ बहुमत प्राप्त सरकारले अपेक्षित काम गर्न नसकेको उहाँको भनाइ थियो । कार्यक्रममा पूर्वसांसद बालकृष्ण ढुङ्गेलले सबै मिलेर पोकलीको प्रवद्र्धनमा जुट्न आग्रह गर्नुभयो । पोकली झरना देशकै नमूना झरनाको रुपमा रहेकाले यसको विकास र प्रवद्र्धन आवश्यक रहेको उहाँको भनाइ थियो । 

दुई दिनसम्म चल्ने महोत्सवको पहिलो दिन शनिबार स्थानीय जातजातिको पहिचान झल्काउने झाँकी प्रदर्शन गरिएको थियो । राष्ट्रिय तथा स्थानीय कलाकारले प्रस्तुति दिएका थिए ।