सवारी दुर्घटनामा परी १२ जनाको मृत्यु

Nov 2nd, 2019

काठमाडौं, १६ कात्तिक

म्याग्दी, तनहुँ, कपिलवस्तु, धनुषा, दाङ, सप्तरी, डोटी र काभ्रेका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी १२ जनाको मृत्यु भएको छ ।

म्याग्दी, मालिका गाउँपालिका-२ रुम ताप्सेस्थित सडकमा ध.१ ज ५९५ नम्बरको जिप शुक्रबार दिउँसो दुर्घटना हुँदा जिपमा सवार मालिका गाउँपालिका-२ बस्ने २२ वर्षीय सप बहादुर श्रीपाली र ४० वर्षीय चन्द्र बहादुर पुनको घटनास्थलमै मृत्यु भएको छ । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तनहुँ, बन्दिपुर गाउँपालिका-४ मर्स्याङदी रिर्सोटस्थित सडकमा प्रदेश ३-०२००५ प ७६०८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक नेदरल्याण्डका नागरिक ६२ वर्षीय ज्याकोब बोटेमको लक्ष्मी अस्पताल डुम्रेमा उपचारको क्रममा मृत्यु भएको छ ।

कपिलवस्तु, बुद्धभूमि नगरपालिका-९ ईमिलिया पुलस्थित सडकमा भे.१ ख १९९७ नम्बरको बसले रा.३ प १५१६ नम्बरको मोटरसाइकललाई शुक्रबार दिउँसो ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक बर्दिया बगनाह गाउँपालिका-३ बस्ने ४७ वर्षीय रनबहादुर बिकको चौराह अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी कपिलवस्तु, बाणगंगा नगरपालिका-५ झण्डास्थित सडकमा लु.१ ख ८४७७ नम्बरको बसको ठक्करबाट सोही ठाउँ बस्ने राजेश थारुको १८ महिनाको छोरा टोपेन्दर थारुको शनिबार बिहान घट्नास्थलमै मृत्यु भएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

धनुषा, क्षिरेश्वरनाथ नगरपालिका-२ स्थित सडकमा बा.५ ख ८८५ नम्बरको बसको ठक्करबाट गम्भीर घाइते भएका साईकलयात्री क्षिरेश्वरनाथ नगरपालिका-५ बस्ने ६० वर्षीय रामलखन महतोको जानकी हेल्थकेयर जनकपुरमा उपचारको क्रममा शुक्रबार दिउँसो मृत्यु भएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दाङ, गढवा गाउँपालिका-५ चिसापानीस्थित सडकमा रा.१ त २३९३ नम्बरको ट्याक्टर शुक्रबार दिउँसो दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । दुर्घटनामा गम्भीर घाइते भएका गढवा गाउँपालिका-६ मनिकापुर बस्ने ११ वर्षीया निनु पुन, १२ वर्षीया सिमा परियार र १२ वर्षीया सुनिता पुनमगरको गढवा स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको हो । 

दुर्घटनामा घाइते भएकामध्ये १६ जनाको मेडिकल कलेज कोहलपुर, १ जनाको भारत लखनउ र १ जनाको गोर्खा अस्पताल घोराहीमा उपचार भइरहेको छ । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सप्तरी, रुपनी गाउँपालिका-१ स्थित सडकमा लु.१ ख ८२१४ नम्बरको बस र ना.८ ख ५९०३ नम्बरको ट्रक एकआपसमा ठक्कर खाई शुक्रबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका बसका चालक रूपन्देही बुटवल उपमहानगरपालिका-१३ बस्ने स्याङ्जा जगत्रदेव घर भएका ४० वर्षीय नोमोराज न्यौपानेको युनिक अस्पताल रुपनी सप्तरीमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका बसमा सवार अन्य २१ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

डोटी, शिखर नगरपालिका-१ गैरपानीमा ना.७ ख ६१८१ नम्बरको बस सडकबाट अन्दाजी ६० मिटर तल खसेर शनिबार बिहान दुर्घटना हुँदा गम्भीर घाइते भएका बाजुरा साविक बाह्रबिस गाबिस-६ घर भएका ५१ वर्षीय नयाँ शेरालाको शैलेश्वरी अस्पताल दिपायलम उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका बसमा सवार अन्य ३६ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

 काभ्रे, धुलिखेल नगरपालिका-११ पात्ले खेतस्थित सडकमा बा.४ ख ९४८५ नम्बरको टिपर सडकबाट अन्दाजी १ सय ५० मिटर तल खसेर शनिबार बिहान दुर्घटना हुँदा टिपरमा सवार हाल नाम, थर, वतन नखुलेका पुरुषको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।